चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको छानबिन गर्न समिति गठन गरेको छ। अध्ययन बिदा स्वीकृतिको प्रक्रिया, बिदाको प्रयोजन र त्यस अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिसमेत समितिले अध्ययन गर्नेछ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो।
वनविज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा गठित समितिमा कृषि संकायका सह–डीन (प्रशासन) डा. कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका सह–डीन (प्रशासन) राजेन्द्र बस्याल र सह–प्रशासक सहदेव चौधरी सदस्य छन्। कर्मचारी प्रशासन महाशाखाका का.मु. उप–प्रशासक दिनेश अधिकारी सदस्य–सचिव छन्।
समितिले विश्वविद्यालय स्थापना भएदेखि हालसम्म अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको विवरण अध्ययन गर्नेछ। विश्वविद्यालयमा स्थापना कालदेखि कार्यरत तथा अन्य विश्वविद्यालय वा निकायबाट समायोजन भएर आएका शिक्षक तथा कर्मचारीसमेत छानबिनको दायरामा पर्नेछन्।
अध्ययन बिदा स्वीकृत भएको प्रक्रिया, बिदाको उद्देश्यअनुसार अध्ययन भए–नभएको, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित व्यक्तिले गरेका गतिविधिबारे समितिले विवरण संकलन गर्नेछ।
त्यसैगरी, अध्ययन बिदा लिएर तोकिएको उद्देश्य पूरा नगरेको वा बिदाको प्रयोजनविपरीत गतिविधि गरेको भए त्यसको समेत अध्ययन गरिने विश्वविद्यालयले जनाएको छ।
समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदाको सम्भावित दुरुपयोगबारे छानबिन गरी २०८३ पुस १३ गतेभित्र रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनुपर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।