काठमाडौं– बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियामा देखिँदै आएको मनपरी र असमानता हटाउन नेपाल बीमा प्राधिकरणले स्वचालित प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्राधिकरणले सर्भेयर छनोट तथा खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको हो।
प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट गरेर काम दिने प्रक्रियामा कमी आउने र दाबीअनुसार उपयुक्त सर्भेयर स्वचालित रूपमा छनोट हुने प्राधिकरणको अपेक्षा छ।
नयाँ प्रणालीलाई सुशासन, पारदर्शिता र समान अवसरमा आधारित बनाउने उद्देश्यले विकास गरिएको प्राधिकरणले जनाएको छ।
विज्ञता र स्थान हेरेर सिस्टमले छान्ने
प्राधिकरणका अनुसार कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि उक्त दाबीको प्रकृति, सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका विवरणका आधारमा प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ।
उदाहरणका लागि कुनै स्थानमा सवारी दुर्घटनासम्बन्धी दाबी परेको अवस्थामा सवारीसम्बन्धी विज्ञता भएको, सो क्षेत्रमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता पुगेको र तत्काल काम लिन सक्ने सर्भेयरमध्येबाट प्रणालीले उपयुक्त व्यक्ति छनोट गर्नेछ।
यसले बीमा कम्पनीका अधिकारीले प्रत्येक दाबीका लागि छुट्टाछुट्टै सर्भेयर खोजेर छनोट गर्नुपर्ने अवस्था कम गर्नेछ। सर्भेयर खटाउने निर्णयका आधारसमेत प्रणालीमा रहने भएकाले त्यसको अभिलेख पछि हेर्न सकिनेछ।
प्राधिकरणका अनुसार हाल सर्भेयर छनोट वैज्ञानिक र पारदर्शी नभएको, एउटै सर्भेयरले बढी काम पाउने र कतिपयले पर्याप्त अवसर नपाउने गुनासो आउने गरेको छ। कतिपय बीमा कम्पनीले आफूले रोजेका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत प्राधिकरणमा आउने गरेको छ।
नयाँ प्रणालीले यस्ता समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
६८० सर्भेयरको विवरण प्रणालीमा
प्राधिकरणले हालसम्म प्रणालीमा ६८० जना सर्भेयरको विवरण प्रविष्ट गरिसकेको छ। त्यसमध्ये ८८ जना संस्थागत सर्भेयर छन् भने बाँकी व्यक्तिगत सर्भेयर रहेका छन्।
नयाँ प्रणालीमा प्रत्येक सर्भेयरको छुट्टाछुट्टै प्रोफाइल तयार गरिएको छ। प्रोफाइलमा सर्भेयरको विशेषज्ञता, वरिष्ठता, भौगोलिक उपलब्धता, पोर्टफोलियो र यसअघि प्राप्त गरेको कामलगायतका विवरण राखिएको छ।
हालको व्यवस्थाअनुसार व्यक्तिगत सर्भेयरले एकपटकमा पाँचवटासम्म र संस्थागत सर्भेयरले १० वटासम्म काम लिन पाउने व्यवस्था छ। तर कसले कति काम पायो, कति सम्पन्न गर्यो र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने तथ्यांक व्यवस्थित रूपमा राख्न कठिनाइ हुँदै आएको प्राधिकरणको भनाइ छ।
स्वचालित प्रणालीले भने सर्भेयरले प्राप्त गरेको कामदेखि सम्पन्न गरेको कामसम्मको विवरण राख्नेछ। यसबाट एउटै सर्भेयरलाई लगातार काम दिइएको छ कि छैन भन्ने पनि अनुगमन गर्न सहज हुनेछ।
बीमा कम्पनीका अधिकारीलाई तालिम
नयाँ प्रणाली कार्यान्वयनअघि प्राधिकरणले बीमा कम्पनीका सम्बन्धित कर्मचारीलाई तालिम दिन थालेको छ। असोज १३ गते निर्जीवन बीमा कम्पनीका आईटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत प्रणालीसम्बन्धी तालिम दिइँदैछ।
त्यसपछि सर्भेयरहरूलाई पनि स्वचालित प्रणाली प्रयोगसम्बन्धी तालिम दिइने प्राधिकरणले जनाएको छ। भविष्यमा प्रणालीमा पुनर्बीमा कम्पनीलाई समेत समेट्ने योजना रहेको छ।
प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरेर सुझाव लिइएको थियो। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका मापदण्ड र आवश्यक प्यारामिटर तयार गरी सफ्टवेयर विकास गरिएको हो।
दाबी भुक्तानीमा हुने ढिलाइ पनि घट्ने अपेक्षा
प्राधिकरणले स्वचालित सर्भेयर छनोट प्रणालीले बीमा दाबीको प्रक्रिया छिटो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरेको छ।
अहिले सर्भेयर छनोटमा हुने ढिलाइ, अनुपयुक्त सर्भेयर खटिनु, पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था तथा सर्भेयर र सेवाग्राहीबीच उत्पन्न हुने विवादले कतिपय दाबी प्रक्रियामा ढिलाइ हुने गरेको छ।
नयाँ प्रणालीले घटनाको प्रकृति र सर्भेयरको विशेषज्ञता मिलाएर जिम्मेवारी तोक्ने भएकाले यस्ता समस्या घट्ने प्राधिकरणको विश्वास छ। यसबाट समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ।
त्यसैगरी कुन सर्भेयरलाई कुन आधारमा जिम्मेवारी दिइयो भन्ने विवरण प्रणालीमा सुरक्षित रहने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्नेछ।
परीक्षणपछि सुरक्षा परीक्षण गरिने
प्राधिकरणले प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गर्ने जनाएको छ। त्यस क्रममा आवश्यक सुधारसमेत गरिनेछ।
प्रणालीको साइबर सुरक्षाका लागि फायरवाल, भीएपीटी (VAPT) लगायतका सुरक्षा परीक्षण गर्ने तयारी पनि प्राधिकरणको छ।
दीर्घकालमा प्रणालीबाट सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्यांकसमेत संकलन हुनेछ। उक्त तथ्यांकका आधारमा सर्भेयरको कार्यसम्पादन, सेवा प्रवाह र सेवाग्राहीले पाएको सेवाको अवस्था अध्ययन गर्न सकिने प्राधिकरणको अपेक्षा छ।
यसबाट भविष्यमा सर्भेयर व्यवस्थापन, सेवा सुधार तथा बीमा क्षेत्रसम्बन्धी नीति निर्माणमा समेत तथ्यांकमा आधारित निर्णय लिन सहयोग पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।