काठमाडौं– इलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीमा कार्यरत तत्कालीन कार्यालय प्रमुख इन्सपेक्टर कपिल वाग्लेको मृत्यु घटनाको छानबिन गर्दा भ्रष्टाचार प्रकरण बाहिर आएको छ।
वाग्लेको मृत्यु अस्वभाविक देखिएपछि गृह मन्त्रालयले ३ सदस्यीय समिति बनाएर छानबिन गरेको थियो। इन्सपेक्टर वाग्लेको मृत्यु घटनाबारे छानबिन गर्दा भ्रष्टाचार देखिएपछि थप अनुसन्धान र कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको थियो।
अख्तियारले अनुसन्धान सकेर बुधबार इलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीका तत्कालीन प्रहरी जवान संजिव धवल, भरतपुर महानरपालिका–८ का अर्जुनप्रसाद शर्मा र सोही महानरपालिका–२१ का इन्द्रलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सादा पोशाकमा कार्यरत प्रहरी जवान धवलले २०७८ साउन २१ गते अवैध मोबाइलसहित गाडी लिइ आउने अर्जुनप्रसाद र इन्द्रलालको बैंक खाताबाट आफ्नो बैंक खातामा ५५ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको थियो। त्यसैगरी १ लाख २० हजार रुपैयाँ नगदै बुझेर अवैध मोबाइल भएको गाडी प्रहरी जवान धवलले छाडेकाले १ लाख ७५ हजार घुस लिइएको पुष्टि हुने भन्दै मुद्धा दायर गरिएको छ।
त्यसैगरी राष्ट्रसेवक कर्मचारीलाई घुस दिइ प्रभावमा पारिएको भन्दै घुस दिनेविरुद्ध पनि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।