काठमाडौं– नेपाल–भारत ९औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसीडब्लूआर) बुधबारदेखि काठमाडौंमा हुने भएको छ।
सुरुका दुई दिन सहसचिवस्तर (जेएसटीसी) मा छलफल भएका अजेण्डा तथा विषयलाई तेस्रो दिन सचिवस्तरीय बैठकले अनुमोदन गर्ने गरी कार्यक्रम तय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए।
उनका अनुसार मन्त्रालयका सहसचिव शिशिर कोइरालाले नेतृत्व गर्ने जेएसटीसी बैठक बस्ने छ। सहसचिवस्तरको बैठकमा नेपाल र भारतकाबीच जलस्रोत सम्बन्धी भएको सम्झौताका बारेमा छलफल हुने छ। उक्त बैठकमा गण्डक, कोसी, महाकाली सम्झौता लगायतका विषयमा छलफल हुने भेटुवालले जानकारी दिए।
बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण, सप्तकोसी उच्चबाँध, दोधारा–चाँदनीका लागि सिँचाइको मुद्दा, टनकपुरबाट महेन्द्रनगरसम्मको लिंक रोड लगायत विषयमा छलफल हुने छ। बैठकमा सिमानामा हुने डुबान, बाहिपहिरोको पूर्वसूचना लगायतका विषयमा छलफल हुने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले नेपाल लइभलाई जानकारी दिए।
भेटुवालका अनुसार वाणगंगा, पश्चिम राप्ती र खाँडो नदीमा तटबन्द निर्माण, कपिलवस्तुको रोहिणी नदीमा पुल निर्माणको विषयमा पनि बैठकमा छलफल हुनेछ। तेस्रो दिन अर्थात् असोज ७ गते जेसीडब्लूआरको बैठक मन्त्रालयका जलस्रोत हेर्ने सचिव सागरकुमार राई तथा उनका भारतीय समकक्षीको अगुवाईमा हुने तथा निर्णय अनुमोदन गरिने भएको छ।
कोरोना लगायत कारणले उक्त बैठक नियमित बस्न सकेको थिएन। यसअघि भारतको नयाँ दिल्लीमा जेसीडब्लुआरको ८औं बैठक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।