बाँके– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै समेटेर पुरस्कार कार्यविधि लागू गर्न लागेको मन्त्री अथकले जानकारी दिए।
राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन्।
राष्ट्रको लागि आफ्नो जीवनको ऊर्जावान समय खर्च गर्ने खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको महशुस गरेर नै पुरस्कार कार्यविधि लागू गर्न लागिएको उनको भनाइ छ । नयाँ व्यवस्थाले खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहन मिल्ने बताए ।
‘हामीले ऐनमार्फत खेलाडीहरुको पुरस्कार राशी सुनिश्चित गरेका छौं’ मन्त्री अथकले भने, ‘अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कार स्वरुप १ करोड ३० लाख रकम प्राप्त गर्नेछन । यसले खेलाडीको वृत्ति विकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठूलो मद्दत मिल्नेछ ।’
उनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका विभिन्न प्रतिस्पर्धामा पदक बिजेता तथा किर्तिमान बनाउन सफल खेलाडीहरुलाई विधागत रुपमा पुरस्कारको ब्यवस्था गरिएको बताए ।
नेपाली खेलाडीहरु हरेक खेल खेल्न सक्षम भएपनि हौसलाको कमी रहेको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘नेपाली खेलाडीहरु आफैमा साहसी र सक्षम छन, उनीहरुको हौसला बढाउन जरुरी छ ।’
नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी तेक्वान्दो प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका सभापति तथा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य बुद्धि थापाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।