काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षका केही सांसदहरु प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै नेपाल पक्षका सांसदहरु संसद भवन परिसरबाट बाहिरिएका हुन्।
नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डे र राजबहादुर बुढालगायत सांसदहरु संसद भवनबाट बाहिरिएका हुन्।
संसद भवनबाट बाहिरिने क्रममा एमाले नेता एवम् सांसद गोकर्ण विष्टले पार्टी एकताका लागि सुझबुझपूर्ण निर्णय गरिएको बताए।
'हामीले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गरेका छौं। पार्टी एकताका लागि यो हाम्रो सुझबुझपूर्ण निर्णय हो,' विष्टले भने।
एमाले सांसद झपट रावलले आफूहरुको उद्देश्य संसद् जाेगाउने भएको भन्दै अब पार्टी जाेगाउन लागेकाे बताए। 'महन्थ-राजेन्द्रले सत्ता विघटन गराएर उता लागेपछि हामी बीचमा बस्याैं। उनीहरू जस्ताका कारण संसद् विघटन भएको हाे', रावलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।