पाँच महिना लामो स्वनिर्वासनपछि शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किए। जेन–जी आन्दोलनले दिएका शारीरिक र मानसिक घाउ केही पुरिएजस्ता देखिन्थे। अनुहारमा आभा थियो।
जेहोस्, पूर्वप्रधानमन्त्री देउवा देश फर्किए। परदेशिएको हरेक नेपाली फर्किंदा हामी खुशी हुनुपर्छ। देउवा जस्तो व्यक्तित्व घर्किदो उमेरमा पराइ भूमिमा भौतारिएको कसैलाई पनि निको लागेको थिएन।
फर्किंदा देखिएको भीड र स्वागतको माहोलले स्वाभाविक रूपमा जोश थप्यो होला।, बोलीमा आवेश मिसियो । त्यसै क्रममा उनले भने- 'ज्ञानेन्द्र शाहले त सकेनन्, यिनले सक्छन्?'
‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर नेपाली कांग्रेसका सभापति गगन थापा।
ज्ञानेन्द्र शाहले सकेनन्, त्यो ठीकै हो। तर यिनीहरूले सक्नैपर्छ।
तर ‘सक्ने’ भनेको शेरबहादुर देउवालाई सक्ने होइन। व्यक्ति शेरबहादुर देउवाको देश र लोकतन्त्रका लागि योगदानलाई अस्वीकार गर्न मिल्दैन। उनले नेपाली लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका र त्यस क्रममा भोगेको संघर्षको आफ्नै ऐतिहासिक महत्त्व छ। त्यसलाई सम्मान गर्नैपर्छ।
तर प्रश्न व्यक्ति देउवाको होइन, देउवाको आडमा विकसित भएको ‘देउवा प्रवृत्ति’को हो।
त्यो प्रवृत्ति सकिनैपर्छ। सकिएन भने न देश बन्छ, न कांग्रेस नयाँ बाटोमा अघि बढ्न सक्छ।
त्यो ‘देउवा प्रवृत्ति’ के थियो?
भनिरहन नपर्ने कुरा हो। तर समयक्रमले बिर्सन नदिन स्मरण गराउनुपर्छ। शक्ति र सत्ताका लागि देउवा, ओली, नेपाल, प्रचण्डलगायतका पुराना राजनीतिक शक्तिहरूले निर्माण गरेको सत्ता-सिन्डिकेट सम्झिए पुग्छ। देउवाको राजनीतिक आडमा निकटस्थहरूले सिर्जना गरेका राजनीतिक चरित्र र प्रशासनिक विकृतिको हिसाबकिताब पनि बिस्तारै सार्वजनिक हुँदै गएको छ।
जेन–जी आन्दोलनले त्यसको केही हिसाब माग्यो। केही प्रश्न उठायो। केही पर्दा हटायो। अब बाँकी प्रश्नको उत्तर पनि खोजिनुपर्छ।
सायद त्यही त्रासले देउवा प्रवृत्तिका केही पात्रहरू उनीसँगै स्वदेश फर्किन सकेनन्।
ज्ञानेन्द्रले किन सकेनन्?
देउवाले चितवनमा आत्मविश्वासका साथ प्रश्न गरे- 'ज्ञानेन्द्रले त सकेनन्, यिनले सक्छन्?'
जीवनभर राजनीति गरेका र पटक–पटक प्रधानमन्त्री बनेका देउवालाई यसको उत्तर आफैं थाहा हुनुपर्ने हो।
ज्ञानेन्द्रले किन सकेनन्? किनकि, उनले जनताको म्यान्डेटबिना सत्ता हत्याएका थिए। उनीसँग जनताको विश्वास थिएन। जनताले उनको कदम स्वीकार गरेका थिएनन्।
२०६२/०६३ मा देउवा र उनीजस्ता लोकतान्त्रिक शक्तिहरू सफल हुनुको कारण उनीहरूसँग केवल एउटा राजनीतिक झुन्ड थिएन।सिंगो जनता थियो।
त्यो विजय देउवाको व्यक्तिगत विजय थिएन। त्यो जनताको चाहना, जनआन्दोलन र लोकतन्त्रको विजय थियो।
त्यसैले ज्ञानेन्द्रले देउवासँग होइन, जनतासँग हार्नुपरेको थियो।
यिनीहरूले किन सक्छन्, किन सक्नैपर्छ?
विनम्रताका साथ भन्छु- देउवा दाइ, यिनीहरूले चाहिँ सक्नैपर्छ।
किनकि यिनीहरू राजनीतिका नयाँ पुस्ताका प्रतिनिधि हुन्। परिस्थितिले अहिले पार्टीमा गगन थापा र सरकारमा बालेन्द्र शाहलाई अग्रमोर्चामा उभ्याएको छ।
यहाँ गगन र बालेन्द्रलाई केवल व्यक्ति भनेर बुझ्नु गलत हुन्छ। उनीहरू परिवर्तन चाहने नयाँ पुस्ता र नयाँ राजनीतिक मनोविज्ञानका प्रतिनिधि हुन्।
त्यसैले चुनौती पनि व्यक्तिलाई हराउने होइन। चुनौतीपुरानो राजनीतिक संस्कारलाई विस्थापित गर्नेहो।
नेपाली कांग्रेसले आफ्ना पूर्वसभापति शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा गरेको छ। कांग्रेसले उनको लोकतान्त्रिक आन्दोलनमा योगदान र पार्टी निर्माणमा खेलेको भूमिकाको सम्मान गर्दै आगामी दिनमा पनि उनको अनुभव र मार्गदर्शन महत्त्वपूर्ण हुने बताएको छ।
यो अपेक्षा स्वाभाविक हो।
तर अभिभावक हुनु भनेको पुरानो शैलीको राजनीतिक संरक्षणको केन्द्र बन्नु होइन। नयाँ पुस्तालाई ठाउँ दिनु, उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनु र आवश्यक पर्दा सही बाटो देखाउनु हो।
देउवा अब किन सान्दर्भिक छैनन् भन्ने प्रश्न
जनताले आफ्नो धारणा व्यक्त गरिसकेका छन्।
एक समयका शक्तिशाली नेता देउवालाई राजनीतिक घटनाक्रमले नै केही हदसम्म किनारामा पुर्याइसकेको छ। उनलाई विस्थापित गरेर निर्वाचनमा गएको कांग्रेसले समेत संसदमा अपेक्षित राजनीतिक हैसियत हासिल गर्न सकेन।
२०६२/०६३ मा देउवा नेपाली राजनीतिका सान्दर्भिक पात्र थिए। त्यसैले उनीहरूको आवाज सुनिन्थ्यो। आज परिस्थिति फेरिएको छ।
देउवा व्यक्तिका रूपमा उमेरको स्वाभाविक चरणमा विश्रामको हकदार छन्। राजनीति पनि एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुनुपर्छ।
तर समस्या त्यहाँ होइन।
समस्या के हो भने देउवाको उपस्थितिलाई आधार बनाएर ‘देउवा प्रवृत्ति’ फेरि टाउको उठाउन खोजिरहेको छ कि छैन?
यदि खोजिरहेको छ भने त्यसलाई नयाँ पुस्ताले रोक्नैपर्छ।
देउवाले अब के गर्न सक्छन्?
अन्त्यमा देउवा आफैंले महसुस गर्नुपर्ने एउटा कुरा छ।
जेनजी आन्दोलनका क्रममा देशमा ठूलो उथलपुथल भइरहँदा त्यसलाई घरबाटै 'लाइभ' हेरिरहेका कतिपय पात्रहरू आज फेरि 'राजनीतिक सेल्फी र लाइभ'मा देखिन थालेका छन्।
उनीहरू देउवाको मायाले मात्र आएका होइनन्। आफ्नै राजनीतिक ठौर–ठेगाना गुमेपछि नयाँ आड खोज्दै आएको देखिन्छन्।
तिनीहरुले पछिल्ला महिनामा राजनीतिक ठेगाना खोज्ने अनेक प्रयास गरे। तर सबै सफल भएनन्।
अब उनीहरूका लागि देउवा फेरि एउटानिमित्त पात्रबन्ने खतरा छ।
देउवा दाइ, त्यसबाट जोगिनुहोस्।
कांग्रेसलाई नयाँ धारबाट अघि बढाउन खोजिरहेको गगन–विश्वप्रकाश पुस्ताको अभिभावक बनिदिनुभयो भने त्यो तपाईंको राजनीतिक जीवनको सुन्दर उत्तरार्ध हुन सक्छ।
सरकारलाई छानबिनमा सघाउनुहोस्। आफू र आफ्नो परिवारमाथि लागेका आरोप तथा आफूमाथि भएका अन्यायको समेत निष्पक्ष छानबिन माग्नुहोस्।
छानबिनबाट नभाग्नुहोस्, छानबिनलाई बाटो देखाउनुहोस्।
तपाईंमाथि भएका ज्यादतीको पनि छानबिन हुनुपर्छ। त्यसका लागि जनताको ठूलो हिस्सा तपाईंको साथमा हुनेछ।
किनकि इतिहासमा तपाईंको योगदान महत्वपूर्ण छ र त्यसलाई कायम राख्नुपर्छ।
मेटिनुपर्ने केवल त्यो ‘देउवा प्रवृत्ति’ हो- जसले व्यक्ति होइन, संस्थालाई कमजोर बनायो,लोकतन्त्र होइन, सत्ता-संरक्षणलाई बलियो बनायो।
ज्ञानेन्द्रले नसकेको कारण जनता उनीसँग थिएनन्।
अब यिनीहरूले सक्ने कारण पनि यही हो- जनताको चाहना उनीहरूसँग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।