काठमाडौं– सोमबार प्रतिनिधि सभा बैठकमा विचित्रको दृश्य देखियो। सभामुख डोलप्रसाद अर्यालले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेलाई बोल्न नदिएको दृश्य प्रसारण भयो।
प्रतिनिधि सभाका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर–१ बाट विजयी सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रमा रहेको उर्लाबारीस्थित उपस्वास्थ्य चौकीमा निःशुल्क बाँडिएको भनिएको औषधिको गुणस्तरबारे संसदमा बोल्न खोजेका थिए। तर, सभामुखले पटक–पटक ‘माननीयज्यूलाई मैले माइक दिएको छैन, बस्नुस्’ भनेर बोल्ने अवसर दिएनन्। जबकी न्यौपानेले बैठक सुरू हुनुअघि नै सभामुखसंग आकस्मिक समय दिन अनुरोध गरेका थिए ।
‘मैले राख्न खोजेको विषयसमेत सभामुखज्यूलाई जानकारी गराएको थिएँ। आकस्मिक समय लिएर बोल्न खोज्दा समय दिइएन,’ न्यौपानेले नेपाललाइभसँग मंगलबार भने।
न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। ‘स्थानीय एउटा उपस्वास्थ्य चौकीमा बाँडिएको औषधि देशका सबै सरकारी स्वास्थ्य केन्द्रबाट बाँडिएको हुन सक्छ। गुणस्तरहीन औषधि बाँड्दा जनताको स्वास्थ्यमाथि खेलवाड गरेको ठहर्छ। तसर्थ, औषधि वितरण रोक्न र गुणस्तरहीन औषधि वितरण गर्नेलाई कारबाही गर्न माग गर्न खोजेको थिएँ, तर सभामुखले समय दिनुभएन,’ न्यौपानेले भने।
‘लापरबाही कसको? खरिद गर्दा किन गुणस्तर परीक्षण गरिँदैन? औषधिमा गुणस्तर कायम छ भन्ने आधार के? गुणस्तर परीक्षण नगरी औषधि वितरण तथा प्रयोगमा ल्याउने कार्य तुरुन्त बन्द गरियोस्,’ न्यौपानेले संसदमा राख्न खोजेको विषय सुनाउँदै भने– ‘मानव स्वास्थ्यमा खेलवाड नगरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।