काठमाडौं– युक्रेनी सेनाले लिबियाको तटनजिक रुसी युद्धपोत डुबाएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमै निर्मित सातवटा समुद्री ड्रोन प्रयोग गरेर रुसी युद्धपोतलाई निशाना बनाइएको बताएका छन् ।
जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी कार्वेट ‘मर्करी’ डुबेको छ भने केए–२७ हेलिकप्टर पनि नष्ट भएको छ । रुसी हतियार ढुवानीमा प्रयोग हुँदै आएको मालवाहक जहाज ‘एमभी अंगारा’लाई समेत निशाना बनाइएको उनले बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत आक्रमणबारे जानकारी दिँदै जेलेन्स्कीले रुसको आक्रमणको जवाफ दिन युक्रेनले आफ्ना सैन्य क्षमता र हतियार विकासलाई निरन्तरता दिने बताएका छन् ।
यसअघि लिबियाको पूर्वी सरकारको नौसैनिक अड्डा बेनगाजीमा रहेको रुसी जहाजमा आइतबार बिहान विस्फोट भएको जानकारी सार्वजनिक भएको थियो । ड्रोन आक्रमण भएको आशंका गरिएको उक्त जहाज इन्धन र अन्य सामग्री लिन त्यहाँ रोकिएको बताइएको छ ।
लिबियाको पूर्वी सरकारका अनुसार घटनामा मानवीय क्षति भएको छैन । यद्यपि, जहाज डुबेको र आक्रमणमा भएको क्षतिबारे युक्रेनको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन । रुसले पनि यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।