काठमाडौं- जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी सूचना अनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको छ। निरन्तरको वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखेर आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न भनेको छ। साथै, बिरामी स्थानान्तरण र रिफरल सेवालाई सहज एवं प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई चुस्त राख्न निर्देशन दिइएको छ।
आवश्यक परेमा संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी सहजीकरण र व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ।
यी हुन् आपत्कालीन सम्पर्क व्यक्तिहरू
स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र: श्रेया सुवेदी (९८०९४१३८३४)
कोशी प्रदेश: डा. रामहरी रेग्मी (९८४१३२४२४५)
मधेश प्रदेश: फुलेन्द्र यादव (९८११९४२७६०)
बागमती प्रदेश: दिनेश रुपाखेती (९८५५०२६८३६)
गण्डकी प्रदेश: डा. रोशन ढकाल (९८४९७६२५०१)
लुम्बिनी प्रदेश: डा. शिशिर गिरि (९८४१४६५८५३)
कर्णाली प्रदेश: श्यामलाल आचार्य (९८५८०४७४७६)
सुदूरपश्चिम प्रदेश: हेमराज जोशी (९८४८७२०९९८)
अतिरिक्त जानकारी तथा सहयोगका लागि मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।