काठमाडौं– आगामी दिनमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि सरकारले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र बनाएको छ। कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सम्भावित मौसमी जोखिम र सरकारले गरिरहेको तयारीबारे जानकारी लिएका छन्।
अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग उनले यस साताको मौसमको प्रक्षेपण र सम्भावित जोखिमबारे छलफल गरेका हुन्।
महानिर्देशक श्रेष्ठका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको सक्रियताका कारण उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ। प्राधिकरणले पनि चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गर्दै जोखिममा रहेका जिल्ला प्रशासन, पर्यटन, यातायात तथा पूर्वाधार क्षेत्रसँग समन्वय गरिरहेको जनाएको छ।
यसैबीच, गृह सचिवको अध्यक्षतामा भएको बैठकले असोज ९ देखि ११ गतेसम्मको भारीदेखि अति भारी वर्षालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने, नदी तटीय क्षेत्रमा टोली परिचालन गर्ने, उद्धार सामग्री तयारी राख्ने र स्थानीय तहबाट पूर्वसूचना प्रवाह गर्ने निर्णय गरेको छ। विपद् प्राधिकरणको नेतृत्वमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउने तयारी पनि गरिएको छ।
आइतबारदेखि मौसममा सुधार हुने अनुमान गरिएको छ। सरकारले सम्भावित जोखिमका क्षेत्रमा आवश्यक सावधानी अपनाउन र आधिकारिक पूर्वसूचनाको पालना गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।