नेपालगञ्ज - सेवाग्राहीसँग आर्थिक लाभ लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले प्रेस विज्ञप्ति जारी गर्दै बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारू र नेपालगञ्जस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्कालाई निलम्बन गरिएको जनाएको छ ।
प्रहरीका अनुसार यही मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेका अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उक्त भिडियो २०८३ मंसिर १० गते सार्वजनिक भएपछि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
भिडियोमा संलग्न दुवै प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार २०८३ मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको कार्यालयले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।