काठमाडौं– विभिन्न उच्चपदस्थ व्यक्तिसँगको सम्बन्ध र आर्थिक चलखेलको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफूलाई दबाब र धम्की दिएर बयान दिन लगाइएको दाबी गरेका छन् ।
शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठलगायत व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको बताएका हुन् ।
सापकोटाका अनुसार बयान नदिए आफू र परिवारलाई समेत हानि पुर्याउने धम्की दिइएको थियो । आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा पुर्याइएको र मानसिक यातना दिँदै आफूले भनेअनुसारका कुरा पढ्न लगाइएको उनको आरोप छ ।
प्रहरीले आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको पहुँचमा पुर्याएर छेडखानी गरेको तथा एआईबाट सिर्जित सामग्रीसमेत प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको उनको दाबी छ ।
उनले अनुसन्धानका क्रममा झुटा प्रमाण सिर्जना गर्ने र सार्वजनिक गर्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न आयोगसँग माग गरेका छन् । आयोगको टोलीले सोमबार प्रहरी हिरासतमा रहेका सापकोटाको अवस्था बुझ्ने तयारी गरेको छ ।
सापकोटा गत असोज १४ गते भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीसँगको सम्पर्क र सम्बन्धका आधारमा विभिन्न उच्चपदस्थ व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।