काठमाडौं– निर्वाचन आयोगले आफ्नो चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखेका अधिकांश काम अझै सम्पन्न गर्न सकेको छैन। निर्धारित ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण रूपमा कार्यान्वयन भएका छन् भने १० वटा काम सुरु नै भएका छैनन्।
आयोगले शुक्रबार ललितपुरमा सरोकारवालासँग गरेको छलफलमा सार्वजनिक गरेको विवरणअनुसार १६ वटा क्रियाकलाप भने आंशिक रूपमा कार्यान्वयन भएका छन्।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले रणनीतिक योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै लक्ष्यअनुसार काम हुन नसक्नुका कारण पहिचान गर्न छलफल गरिएको बताए।
आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनामा पाँच रणनीतिक स्तम्भ, २० कार्यनीति र १४६ मुख्य क्रियाकलाप समेटिएका छन्। तीमध्ये पहिलो दुई वर्षका लागि ३५ वटा क्रियाकलापलाई प्राथमिकतासहित कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरिएको थियो।
तर, समीक्षा गर्दा केही काम निर्धारित समयभन्दा पछाडि धकेलिएको र केही पछिल्लो अवधिका लागि राखिएका कामसमेत अगाडि नै गरिएको पाइएको कार्कीले बताए।
कार्यान्वयन हुन नसकेका १० वटा क्रियाकलाप योजनामै अव्यावहारिक लक्ष्य राखिएका कारण रोकिएका हुन् कि कार्यान्वयनमा कमजोरी भएको हो भन्ने विषयमा समेत आयोगले समीक्षा गरेको छ।
कार्कीका अनुसार छलफलबाट रणनीतिक योजनामा समावेश गरिएका कार्यनीति तथा क्रियाकलाप कार्यान्वयन गर्न नसकिने प्रकृतिका नभएको निष्कर्ष निकालिएको छ।
उनले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाए। साथै, योजनाको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा पनि सरोकारवालासँग नियमित छलफल गर्ने आयोगको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।