जनकपुरधाम– धनुषामा छठघाटमा कुरुवा बसेका ६० वर्षीय रामजतन यादवको हत्या गरेर फरार भएका छिमेकी पक्राउ परेका छन्। भारततर्फ भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी शहीदनगर नगरपालिका–२ का ३० वर्षीय जयकुमार यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गत कात्तिक २९ गते धनी पोखरीस्थित छठघाटमा पूजासामग्री कुरेर बसेका रामजतन भोलिपल्ट बिहान मृत फेला परेका थिए। अनुसन्धानबाट पुरानो रिसइबीका कारण जयकुमारले कस्सी प्रहार गरी उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यापछि भारत फरार भएका उनलाई मंसिर १२ गते जटही सीमाक्षेत्रबाट पक्राउ गर्न खोज्दा प्रहरीमाथि पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको प्रहरीको दाबी छ। त्यसपछि प्रहरीले चार राउन्ड गोली चलाएको थियो।
गोली लागेर यादवको बायाँ तिघ्रा र दाहिने छडामुनि गरी तीन ठाउँमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।