काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले वर्तमान सरकार संविधानको मर्म र कानुनी शासनको मान्यताविपरीत सञ्चालन भइरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका, व्यवस्थापिका र प्रहरी प्रशासन कमजोर बनाइएको तथा निजामती कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको उनको दाबी थियो।
खतिवडाले सयौँ कर्मचारीले राजीनामा दिएको उल्लेख गर्दै नागरिकले आफ्ना विचार र असहमति स्वतन्त्र रूपमा व्यक्त गर्नसमेत डराउनुपर्ने अवस्था आएको बताए।
सरकारको आलोचना गर्ने र पक्ष–विपक्षमा नारा लगाउने व्यक्तिमाथि दबाब सिर्जना गरी बयान दिन लगाउने गरिएको उनको आरोप थियो।
‘संविधानले चिनेका मानिसले शासन गरेका छैनन्, संविधानले नचिनेका मानिसले शासन गर्ने पद्धतिको विकास भएको छ,’ उनले भने।
खतिवडाले संविधान निर्माणमा भूमिका खेलेका राजनीतिक शक्तिहरू पुनः एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।