वासिङ्टन– अमेरिकाको गुप्तचर निकाय (सिआइए)को निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएकी छिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआइएको निर्देशकमा गिना ह्यास्पेललाई सिफारिस गरेका थिए।
उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ। यस अनुमोदनसँगै अमेरिकी शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा ह्यास्पेल नियुक्त भएकी हुन्।
उनी सिआइएकै कर्मचारी हुन्। सन् २००१ को सेप्टेम्बरमा अलकायदा(आतंककारी समूह)ले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानमा उनको निकै प्रभावकारी भूमिका रहेको बताइन्छ।
उनको अनुसन्धान पद्दति कम मात्रै विवादमा परेको थियो। किनभने अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद उत्पन्न हुने गरेको थियो।
उनीभन्दा अघिका सिआइएका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री छन्। उनले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिएका थिए।
ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याट बीचमा केही विवाद पनि थियो। तर पछि भने उनको नाम बहुमतबाट अनुमोदन भएको थियो।
उनले गर्ने गरेका अनुसन्धान पद्दतिका बारेमा सिनेटमा केही विवादहरु आएपछि ह्यास्पेलले आगामी दिनमा आफूले यातना दिने र अव्यवहारिक प्रकृतिका यस्ता अनुसन्धान पद्दतिहरु नअपनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
उनले सीआइएमा ३३ वर्ष काम गरेसकेकी छिन्। त्यसैगरी उनले उक्त कार्यालयको अधिकांश कार्य भूमिगत रहेर गुप्तचरको भूमिकामा गर्दै आएकी थिइन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।