क्वालालम्पुर– मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन्।
गुदमैथुनको अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो। उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका शुभेच्छुकले खुसीयाली मनाउँदै र्याली निकालेका थिए।
कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुसी हुँदै राजदरबार गएका थिए। राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए।
थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विना सर्त रिहा गरिएको बताए।
उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरिएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो।
उनलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय सुनाइएको थियो। आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिसोध साँधेर गलत आरोप लगाइ दण्डित गरिएको बताएका थिए।
सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मद संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दीमा थिए। उनीहरुको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आम निर्वाचनमा जित हासिल गरेको थियो।
निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बनेका माहाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन्। ९२ वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने प्रष्ट पारेका छन्।
यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किएका हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।