जेरुसेलम– अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो सन्देश समेत देखाइएको थियो।
भिडियो सन्देशमार्फत् राष्ट्रपति ट्रम्पले इजरायलको तेल अभिभबाट जेरुसेलममा दूतावास सार्नु पर्नाको कारणका बारेमा प्रष्ट पारेका थिए।
तर बेलायतले भने जेरुसेलममा दूतावास सार्ने आफ्नो कुनै योजना नरहेको जानकारी दिएको छ। बेलायतका प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले इजरायलका लागि तेल अभिभमा स्थापना गरिएको दूतावास जेरुसेलममा स्थानान्तरण गर्ने कुनै योजना नरहेको सोमबार पत्रकारहरूसँग बताएकी हुन्। प्यालेस्टिनीको चर्को विरोध र प्रदर्शनकाबीच अमेरिकाले जेरुसेलममा दूतावास स्थापना गरेपनि बेलायतले नगर्ने भएको हो।
प्रधानमन्त्रीका प्रवक्ताले भने,‘राज्यको अन्तिम सहमति हुनअघि नै जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको निर्णयमा प्रधानमन्त्रीले गत डिसेम्बरमै असहमति जनाउनुभएको थियो।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।