नेपालगन्ज– तीन वर्षअघि नेपालगन्जकोे सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने समूहका मुख्य नाइके रिगल ढकाललाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ।
त्यसैगरी सोही हत्याकाण्डमा संलग्न अन्य अभियुक्तहरुलाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय सुनाइएको छ। सोही घटनामा संलग्न रहेका एक जनाले भने सफाइ पाएका छन्।
जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले गरेको फैसला अनुसार अन्य अभियुक्तहरु प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैदको सजाय सुनाएको छ। त्यस्तै, अर्का अभियुक्त सोहनसिंह ढकाललाई १० वर्ष, दिपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्ष कैद सजाय तोकिएको छ।
अभियुक्तहरु माधव नेपाली, विवाद पाठक, हरि ओली, मनिष चौलागाईँ, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई ३/३ वर्षको कैद सजाय भएको र अभियुक्त दीपक केसीले सफाइ पाएको जिल्ला अदालत बाँकेका श्रेस्तेदार दण्डपानी लामिछानेले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेले मानन्धर हत्याकाण्डमा मुख्य अभियुक्त रिगल ढकालसहित १५ जना विरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो।
सो मुद्दामा बादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता टेकबहादुर थापा र प्रतिबादीको तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल र अधिवक्ता लोकबहादुर शाह सहितका कानुन व्यवसायीहरुले बहस गरेका थिए।
मुख्य अभियुक्त ढकाल घटना भए लगत्तै फरार थिए। प्रहरीले गुन्डा नाइकेहरुलाई खोजी–खोजी इन्काउन्टर गर्न थालेपछि उनले २०७२ भदौ ७ गते जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका थिए।
हत्याको घटना २०७२ साल असार २८ गते दिनदहाडै भएको थियो। जिल्ला अदालतको फैसलापछि आफूहरुले न्याय पाएको पीडित चेतन मानन्धरका आफन्तजनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।