काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता क्षेत्रबाट सक्रिय केही अनुहार पनि नेतृत्वको दौडमा छन्।
नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका हुन्।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उनीहरूमध्ये कोही पदाधिकारीको दौडमा छन् भने कोही केन्द्रीय सदस्य बन्ने तयारीमा छन्।
अजयबाबु शिवाकोटीले कांग्रेसको खुलातर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। उनी नेपाल प्रेस युनियनका पूर्वमहासचिव हुन्। पत्रकारितासँगै कांग्रेस राजनीतिमा सक्रिय शिवाकोटी यसपटक पदाधिकारी बन्ने प्रयासमा छन्।

बाला अधिकारी पनि कांग्रेसको केन्द्रीय सदस्य को दौडमा छिन्। नेपाल पत्रकार महासंघ संकटमा परेकाे बेला निर्वाचन गराएर ‘सेफ ल्यान्डिङ’ गराउन भूमिका खेलेकी निवर्तमान कार्यवाहक अध्यक्ष अधिकारी पीएचडी होल्डरसमेत हुन्।

शिव लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन्। पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय लम्साल पनि कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षासहित महाधिवेशनको प्रतिस्पर्धामा छन्।

समिरजंग शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन्। युनियनको नेतृत्व गरिसकेका शाह पनि कांग्रेसको केन्द्रीय राजनीतिमा आफ्नो स्थान बनाउने प्रयास गरेका छन्।

कविर राणा वरिष्ठ पत्रकार हुन्। राणा यसपटक कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने प्रयासमा छन्।

त्यस्तै, बिश्वराज तामाङ मोफसलमा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। राजधानीबाहिरबाट पत्रकारिता गर्दै आएका उनी पनि कांग्रेसको महाधिवेशनमार्फत पार्टीको केन्द्रीय संरचनामा पुग्ने प्रयासमा छन्।

केवी राना नेपाल पत्रकार महासंघका केन्द्रीय समिति सदस्य हुन्। पत्रकारितामा लामो समयदेखि सक्रिय राना पनि कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने प्रयासमा छन्।

यसैगरी कमला हमाल नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन्। पत्रकारिता क्षेत्रमा सक्रिय हमाल पनि कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदवार बनेकी छन्।

पत्रकारिता क्षेत्रबाट कांग्रेसको नेतृत्वमा दाबी गर्ने यी अनुहारहरूको उपस्थितिले महाधिवेशनमा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई पनि रोचक बनाएको छ। पत्रकार महासंघ र प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालेका तथा मोफसलमा पत्रकारितामा सक्रिय रहेका व्यक्तिहरू पार्टी राजनीतिमा प्रत्यक्ष प्रवेश गर्न खोजिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।