काठमाडौं। बाढी र पहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार रसुवा–नुवाकोट हुँदै रसुवागढी जाने पासाङ ल्हामु राजमार्ग, मनाङको खाङसार–बेंसीसहर सडकखण्ड र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएका हुन्।
रसुवा र नुवाकोट जोड्ने पासाङ ल्हामु राजमार्ग गत भदौ १० गते आएको बिनाशकारी बाढीका कारण अवरुद्ध भएको हो। त्रिशूली बजार र बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
स्याफ्रुबेसीसम्म भने वैकल्पिक बाटोबाट जान सकिने प्रहरीले जनाएको छ। काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किलोमिटर–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेसीसम्म पुग्न सकिनेछ। उक्त वैकल्पिक बाटो सिंगल लेनको कच्ची सडक रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मनाङको खाङसार–बेंसीसहर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ ९ गते बिहान ६:३० बजेदेखि परेको अविरल वर्षाका कारण बाढी आएपछि बेंसीसहर हुँदै खाङसारसम्म जाने सडक अवरुद्ध भएको हो।
म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ १० गते बिहान ५:५० बजे रघुगंगा गाउँपालिका–२, बैसरीमा सडक माथिबाट लेदोमाटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।