काठमाडौं। भारतका विपक्षी नेता राहुल गान्धीलाई निर्वाचन प्रमुखविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ। गान्धीसहित विपक्षी दलका सांसदहरू नयाँदिल्लीस्थित जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले उनीहरूलाई रोकेको हो।
गान्धीको कांग्रेस पार्टीको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा प्रहरीले उनलाई एउटा गाडीमा राखेर त्यहाँबाट लैजाँदै गरेको देखाइएको थियो। प्रहरीले अन्य विपक्षी सांसद र प्रदर्शनकारीलाई पनि नियन्त्रणमा लिएको छ।
विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन्। उनीहरूले कुमार नेतृत्वको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता दर्तामा हेरफेर गरेको आरोप लगाएका छन्। निर्वाचन आयोग र सरकारले भने उक्त आरोप अस्वीकार गरेका छन्।
मतदाता सूचीमा गरिएको व्यापक संशोधनविरुद्ध विपक्षी दल, विद्यार्थी समूह र भारतको ‘ककरोच’ युवा आन्दोलनले प्रदर्शन गर्दै आएका छन्। ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ नाम दिइएको यो प्रक्रिया गत वर्ष स्थानीय निर्वाचनअघि पूर्वी राज्य बिहारबाट सुरु भएको थियो। त्यसपछि यो भारतका अधिकांश राज्य र केन्द्रशासित क्षेत्रमा विस्तार भएको छ।
भारतको निर्वाचन आयोगले अहिलेसम्म मतदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाएको छ। हटाइएका नाममध्ये लाखौंका विषयमा पुनरावेदन परेको छ।
विपक्षी दल र प्रदर्शनकारी समूहहरूले मतदाता सूची संशोधन तत्काल रोक्न तथा गलत रूपमा हटाइएका नाम पुनः समावेश गर्न माग गरेका छन्। उनीहरूले विपक्षी दललाई समर्थन गर्ने मतदाताको नाम असमान रूपमा हटाइएको तथा मोदीको पार्टीलाई समर्थन गर्ने सम्भावना भएका मतदाताको नाम भने कायम राखिएको वा थपिएको आरोप लगाएका छन्।
मोदीको पार्टी र निर्वाचन आयोगले भने यी आरोप अस्वीकार गर्दै मतदाता सूची संशोधनको कुनै राजनीतिक उद्देश्य नरहेको बताएका छन्। उनीहरूका अनुसार दोहोरो तथा अयोग्य मतदाता विवरण हटाउने र योग्य मतदाताको नाम सूचीमा कायम राख्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो।
मतदाता सूची विवादमा भइरहेको प्रदर्शन मोदी सरकारका लागि नयाँ राजनीतिक चुनौतीका रूपमा देखिएको छ। यसअघि ‘ककरोच’ आन्दोलनको प्रदर्शनपछि परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर उनका शिक्षामन्त्रीले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।