काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ ।
शुक्रबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रनमात्र बनाउन सक्यो ।
पहिलो संस्करणको विजेता जनकपुरको ब्याटिङ चितवनका बलरसामु टिक्न सकेन । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित्नैपर्ने दबाब रहेको खेलमा जनकपुरले कमजोर प्रदर्शन गरेको हो ।
जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तृतराज दास ५, रायन बर्ल ६, ह्यारी ट्र्याक्टर शून्य, जिम्मी निशम शून्य र अभिषेक तिवारी ४ रनमा आउट भए । आदित्य महता ४ रनमा पवेलियन फर्किए ।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा चितवनका रन्जीत कुमारले घातक बलिङ गरे । उनले ३ ओभरमा एक मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिए । सिकन्दर राजाले ४ ओभरमा २ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । कामिल मिसराले पनि २ विकेट हात पारे । कमलसिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए ।
जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनका लागि प्लेअफ सम्भावना बलियो बनाउने अवसर बनेको छ । चितवनलाई अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्न बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ । उता जनकपुरका लागि पनि यो खेलको नतिजा प्लेअफ दौडमा निर्णायक बन्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।