काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै प्लेअफ यात्रालाई बलियो बनाएको छ ।
शुक्रबारको दोस्रो खेलमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । सुरुवातमै विकेट गुमाएर दबाबमा परेको चितवनलाई डेभिड मलानले अविजित ३५ रन बनाउँदै जित दिलाए ।
प्लेअफमा स्थान बनाउन जित्नैपर्ने दबाबमा रहेको चितवनका लागि यो जित महत्वपूर्ण बनेको छ । सात अंक जोडेको चितवन अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । चार अंकमा सीमित जनकपुर छैटौँ स्थानमा छ ।
पावरप्लेमा चितवनको ब्याटिङ धराशायी
सामान्य लक्ष्य पछ्याएको चितवनले पनि सहज सुरुवात गर्न सकेन । जनकपुरका ललित राजवंशी र राहुल यादवले सुरुदेखि नै दबाब सिर्जना गरेपछि चितवनले पावरप्लेभित्रै पाँच विकेट गुमायो ।
अर्जुन साउँद पहिलो बलमै ललितको बलमा बोल्ड भए । कमिल मिश्रले १२ र रवि बोपाराले १३ रन बनाए पनि राहुल यादवले दुवैलाई चौथो ओभरमा आउट गरे ।
ललितले कप्तान सिकन्दर राजालाई शून्यमा पवेलियन पठाए भने राहुलले विवेक यादवलाई सात रनमा आउट गरे ।
कुशल मल्ल २५ बलमा १५ रन बनाएर आउट भएपछि १३.२ ओभरमा चितवन ६७ रनमा ६ विकेट गुमाएको अवस्थामा पुगेको थियो । विशाल सुस्लिङको बलमा सन्तोष कार्कीले उनको क्याच लिएपछि डीआरएसमार्फत विकेटको निर्णय भएको थियो ।
मलानले सम्हाले इनिङ्स
लगातार विकेट गुमाएर दबाबमा परेको चितवनलाई डेभिड मलानले सम्हाले । उनले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ३५ रन बनाए ।
मलानले १८औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै चितवनलाई जितसम्म पुर्याए । उनको संयमित ब्याटिङले सुरुवातमा कमजोर देखिएको चितवनको इनिङ्सलाई सुखद अन्त्य दिलायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन बनाएको थियो ।
जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाउँदा विशाल सुस्लिङले १५ रन जोडे । अन्य ब्याटर चल्न नसक्दा जनकपुरले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन ।
चितवनका रन्जीत कुमारले २ रन खर्चेर तीन विकेट लिए । सिकन्दर राजा र कामिल मिसराले दुई–दुई विकेट हात पारे ।
सानो लक्ष्य रक्षा गर्ने क्रममा जनकपुरका ललित र राहुलले चितवनलाई दबाबमा राखे पनि मलानको ब्याटिङ रोक्न नसक्दा टोली पराजित भयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।