काठमाडौं– पछिल्लो समय कोरोना भाइरस (कोेभिड १९) संक्रमणको कारण देखाउँदै रोजगारदाताहरुले श्रमिक कटौती गर्न सुरु गरेका छन्।
कोरोनाका कारण व्यवसाय नै घाटामा जान थालेको भन्दै पर्यटन तथा होटल क्षेत्रका रोजगारदाताहरुले श्रमिक कटौती सुरु गरेका घटना बाहिरिन थालेका छन्।
श्रमिक संगठनहरुले भने त्यसप्रति आपत्ति जनाएका छन्। पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन युनिट्राभले पर्यटन क्षेत्रका रोजगारदाताहरुले श्रमिक कटौती सुरु गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ।
युनिट्राभले कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई भइरहेका बेला एअरलाइन्सलगायत अन्य पर्यटन क्षेत्रका श्रमिकको रोजिरोटी नखोस्न रोजगारदातालाई आग्रह गरेको हो।
यो संकटको घडीमा श्रमिकदेखि सेवासुविधासम्म कटौती नगर्न रोजगारदाताहरुलाई युनिट्राभले सुझाएको छ।
श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौतिलगायतका सेवासुविधा कटौती गर्ने रोजगारदाताको एकतर्फी निर्णय मान्य नहुने सो संगठनको भनाइ छ।
कटौती रोजगारदाता ऐनविपरीत : जिफन्ट
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले कोरोनाको कारण देखाउँदै रोजगारदाताले श्रमिक कटौती गर्नु ऐनविपरीत भएको बताए।
‘यस्तो आपतकालीन अवस्थामा रोजगारदाताले एकतर्फी रूपमा श्रमिक कटौती गर्न सुरु गरेको भन्ने जानकारीमा आएको छ, यसो गर्न पाँइदैन। रोजगारदाताहरु ऐनविपरीत गए हामी श्रमिकहरु आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउँछ,’अध्यक्ष श्रेष्ठले नेपाललाईभसँग भने।
कारबाही हुन्छ : विभाग
श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारदाताले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै श्रमिक कटौती गर्न नपाउने जनाएको छ। यसो गरेको पाइएमा रोजगारदातालाई कारबाही हुने विभागले जनाएको छ।
विभागका निर्देशक सूर्यप्रसाद उपाध्याय भन्छन्, ‘कोरोनाको कारण देखाई श्रमिक कटौती गर्न पाँइदैन। बरु रोजगारदाता र श्रमिकहरुको आपसी समझदारीमा केही समयका लागि बिदा वा अन्य केही व्यवस्था हुन सक्छ।’
रोजगारदाताले श्रमिक कटौती गरेको उजुरी आएमा त्यस्ता रोजगारदातालाई कारबाही गरिने निर्देशक उपाध्यायको भनाइ छ।
उजुरी आएको छैन : श्रम कार्यालय
कोरोनाको कारण देखाउँदै श्रमिक कटौतीका उजुरी भने श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गत श्रम कार्यालय काठमाडौंसम्म नपुगिसकेको कार्यालय प्रमुख खगेन्द्र बस्नेतले बताए। ‘कटौतीका कुराहरु सुनिए पनि कार्यालयमा त्यस्तो उजुरी भने आएको छैन’, उनले भने।
श्रमिक कटौती सम्बन्धमा के छ कानुनी प्रावधान?
श्रम ऐन २०७४ को दफा १४५ मा रोजगारदातालाई श्रमिक कटौतीको अधिकार छ। तर त्यसका केही सीमा निर्धारण गरिएका छन्। उक्त
दफाको उपदफा १ मा भनिएको छ, ‘प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरु गाभिएका कारणले प्रतिष्ठान आंशिक वा पूर्णरुपमा बन्द गर्नुपर्ने भएमा रोजगारदाताले श्रमिकको संख्या कटौती गर्न सक्छन्।’
यी कारण श्रमिक कटौती गर्नुपर्ने भएमा करिब ३० दिन अगावै कटौतीको कारण, सम्भावित मिति र सम्भावित श्रमिकको संख्या खुलाई आधिकारिक ट्रेड युनियन तथा श्रम सम्बन्ध समितिलाई सूचना दिनुपर्ने उल्लेख छ।
तर कोरोना संक्रमण अन्य परिस्थितिभन्दा फरक भएकाले कामदार कटौती नगर्न श्रमिक संगठनहरुले रोजगारदाताहरुलाई आग्रह गरेका हुन्।
‘भाइरस संक्रमणको असर रोजगारदातालाई मात्रै पर्दैन, यसको प्रत्यक्ष मारमा श्रमिकहरु पनि छन् । एकातिर बढ्दो महंगी, अर्कातिर रोजगारदाताले कामबाट पनि हटाएपछि श्रमिकहरु भोकै मर्ने?’ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले प्रश्न गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।