काठमाडौं- परदेश...! जहाँ सुन्दर पसिनाको खोजीमा लाखौं नेपाली पुगेका छन्।
कति पसिना पोखेर, सपनाको कुम्लो पारेर फर्किएका छन्। कति संघर्ष गर्दागर्दै उतै अस्ताएका छन्।
संघर्षकै क्रममा थुप्रै युवा परदेशकै माटोमा बिलाएका छन्।
अमृतमाया राईका शब्द सापटी लिने हो भने परदेशले धेरैका छोरा चुँडेको छ।
हुन पनि हो, परदेशले हजारौँका सन्तान चुँडेको छ। कतिका अभिभावक छिनेको छ। सिउँदो पुछेको छ। सफलताका सयौँ कथाहरुसँग पीडाका एकादुई घटनाहरु पनि दाँजि साध्य छैनन्। परदेश साँच्चै निर्मम छ। निर्दयी छ।
‘जेठमा घर आउँछु। आएर बिहे गर्ने हो, दुई वटा बंगुर र एउटा राँगा पालिराख्नु भन्थ्यो। खसी चाहिँ म आफैँ किन्छु भनेको थियो। आउन नपाई असोजमै माथि गइहाल्यो,’ वैदेशिक रोजगार विभाग अगाडि भेटिएकी अमृतमाया राईले दक्षिण कोरियामा ज्यान गुमाएको कान्छो छोरासँगको अन्तिम संवाद सम्झिइन्।
‘प्रेसरले हान्यो कि के भयो ढ्यांग लडेको थियो रे! त्यसपछि साथीले अस्पताल पुर्याउँदा ऊ ... गइगएछ। हामीलाई त्यस्तो खबर आयो,’ अमृतमायाका श्रीमान् अम्बरबहादुर राईले सुस्तरी थपे। उनको स्वर अड्किए जस्तो थियो। आँखा रसाएका थिए।
६८ बसन्त पार गरिसकेकी अमृतमाया र ७६ बसन्त पार गरिसकेका अम्बरबहादुरले बुढेसकालको सहारा सोचेको कान्छो छोरा (अर्जुन राई) ४ महिना अगाडि गुमाए। त्यही पीडा पोखिरहेका छन् उनीहरू।
000
असोज ११ गते अमृतमाया राई घुँडा दुखेर छटपटाइरहेकी थिइन्। केही दिनदेखि ज्वरोले पनि निकै सताएको थियो। त्यही दिन बिहानै कोरियाबाट फोन आयो। नातिनीले फोन उठाएर बोल्न दिइन्।
‘अर्जुन हिजो हिँड्दा-हिँड्दै लड्यो। त्यहीँ बेहोस् भयो। हामीले तुरुन्त अस्पताल त पुर्यायौँ तर अस्पतालले मृत घोषणा गर्यो,’ फोनमा आवाज सुनियो। बिरामले थलिएकी अमृतमायाको होस हरायो। त्यसपछि के भयो निकै बेर उनले चाल पाइनन्।
000
होस आउँदा कताकता छोराको मृत्यु भ्रम हो कि भन्ने पनि लाग्यो। छोराले २०७८ जेठमा फर्कन्छु, बिहे भोजका लागि २ वटा बंगुर र एउटा राँगो किनिराख्नु भनेको सम्झिइन्।
अमृतमायालाई जेठमा बिहे गर्न छोरा आउँछ जस्तै लागिरहेकै थियो। छोराको मृत्युको खबर भ्रम जस्तै लागिरह्यो। तर त्यो भ्रम नभएर नियतिको सत्य र चोटिलो प्रहार थियो।
पसिनासँग खुसी साटेर फर्किने वाचा गरेर ४ वर्ष अगाडि कोरिया पुगेका कान्छा छोरा अर्जुन राई (वर्ष २७) काठको बाकसमा फर्किए। उनका सबै सपनाका पोका त्यही बाकसमा लाश बनेर फर्किए। बिहे गर्न आउँदैछु भनेका छोराको अन्तिम संस्कार गर्नुपर्यो बुढेसकालका बुबाआमाले।
बुढेसकालको सहारा सोचेको कान्छो छोराको मृत्युले उनीको सपना छरपस्ट बनाइदियो। हुन त यस्तै नियतिले अमृतमाया र अम्बरबहादुरलाई पटक-पटक चिमोटिसकेको थियो। यस अगाडि पनि अघिल्लो रात सद्दे सुतेका दुई छोरा भोलिपल्ट मृत भेटिएका थिए। अब छोराहरुले कमाउँछन् र थप सहज हुन्छ भन्ने बेलामा जेठा र माइला छोराको मृत्यूको पीडा खेप्नु परेको थियो।
‘अघिल्लो रात सद्दे सुतेको जेठो र माइलो भोलिपल्ट हेर्दा मरिराखेका भेटियो। जेठी छोरी पनि धरानमा रोगले मरी। खै के भयो-भयो। मेरो त छोराछोरी भगवानले माथि बोलाएको बोलाइछन्,’ अमृतमाया बर्बराइन्। उनका आँखा टिलपिलाए।
000
अमृतमाया र अम्बरबहादुरका ४ छोरा र दुई छोरी गरी ६ सन्तान थिए। खेतबारीको काम गरेर छोराछोरीलाई पढाएकै थिए। जग्गा जमिन काम गरेर खान पुग्ने थियो। बंगुर, खसी, बाख्रा पनि पाल्थे। यसो हुँदा घर खर्च चलाउन खासै दुःख थिएन। साइला र कान्छा घरमा दुःख भएर होइन, श्रम गर्न सक्ने उमेरमा कमाउन विदेशिएका थिए।
पुर्ख्यौली सम्पतिमा आफ्नो पसिना पनि मिसाएर थप खुसी बटुल्ने उनीहरूको सोच थियो। घर पनि राम्रै चलिरहेको थियो। तर क्रमशः आफ्ना सन्तानहरुको मृत्युले सहिनसक्नु चोट थुपारिरह्यो।
अमृतमाया र अम्बरबहादुरका ६ सन्तानमध्ये अब २ जना (साइला छोरा र कान्छी छोरी) मात्रै बाँकी छन्। उनीहरू पनि साथमा छैनन्। साइला छोरा कोरियामै छन्। कान्छी छोरी पनि विदेशमै छन्। साइली बुहारी पनि छन् तर उनी पनि सहरमा बस्छिन्। बुढ्यौलीले ढपक्कै ढाकेको उमेरले सहारा खोज्दै गएको छ। तर उनीहरू दिनप्रतिदिन एक्लिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।