काठमाडौं- सिमेन्टको धुलो र हिलो लतपतिएर धुस्रेफुस्रे भएको हुलिया। दिउँसो करिब २ बजे। हिलाम्य हातले टायल मिलाउँदै बिच्छ्याइरहेका थिए २७ वर्षीय रामेछापका सौरभ श्रेष्ठ। ३ वर्षदेखि उनी यसैगरी हिलो र धुलोसँग संघर्ष गरिरहेका छन्।
पसिनासँग खुसी साट्न खाँडीदेखि मलेसियासम्म चहारेका उनलाई अब भने आफ्नै देशको हिलो र माटो प्यारो लाग्न थालेको छ। किनकि परदेश भोगेर फर्किएका उनले संघर्ष के हो बुझिसकेका छन्।
मलेसियादेखि खाडीसम्म चहारेर फर्किएका उनले पसिनाको मूल्य बुझिसकेका छन्। विदेशबाट फर्किएर टायल बिच्छ्याउने सीप सिकेका उनलाई हिजोआज देशमा कामको दुःख पनि छैन। दैनिक १५ सयसम्म कमाइ गर्छन्। बिदा नबसी काम गर्दा मासिक ४५ हजार कमाउँछन्। काम नपाएर बेरोजगार बस्नुपरेको पनि छैन।
‘कमाइ पनि राम्रो छ। त्यसमा पनि आफ्नै परिवारसँग बसेर काम गर्न पाउनु अर्को सौभाग्य छ,’ सौरभको मुस्कान मास्कबाहिरबाटै प्रस्ट देखिन्छ। परदेशमा बिताएका ४ वर्षहरुसँग पनि उनलाई कुनै पछुतो लागेको छैन। बरु कमाउन नसके पनि परदेश के हो भनेर बुझ्न पाएकोमा उनले चित्त बुझाएका छन्।
कामकै खोजीमा विदेशिनुपर्ने बाध्यता सौरभको मात्र नभएर आम नेपाली युवाको हो। किनकी एसइई सक्नेबित्तिकै अधिकांश नेपाली युवाहरुका लागि ३ वटा विकल्प हुन्छन्। खाडी जाने की देशमै काम खोज्दै भौँतारिने? अथवा अध्ययनलाई निरन्तरता दिने। सक्नेहरु अध्ययनतिर लाग्छन्। नसक्नेहरु खाडीतिर। अध्ययनलाई निरन्तरता दिनेको संख्या त सायदै कम हुन्छ। केही त देशमै काम पाइन्छ कि भनेर भौँतारिनेहरू पनि भेटिन्छन्। सीप नचलेपछि उनीहरू खाडीको बाटो रोज्न बाध्य हुन्छन्।
रामेछापका सौरभ श्रेष्ठले पनि एसएलसीपछि नै परदेशकै बाटो रोज्न बाध्य भए। सामान्य परिवारमा जन्मिएका सौरभको पढाइलाई निरन्तरता दिन सक्ने अवस्था थिएन।
‘पढ्ने मन त थियो नि तर कलेज पढ्नलाई पैसा थिएन। त्यसपछि के गर्ने भनेर सोच्दा विदेश नै रोजियो,’ सौरभले भने।
उनका बुबा श्याम श्रेष्ठ दैनिक ज्यालामजदूरी गर्थे। त्यही मजदूरी गरेरै उनलाई एसएलसीसम्म पढाएका थिए। बुबाले ज्यालामजदूरी गरेर कलेज पढ्न सक्ने अवस्था थिएन‚ जसले गर्दा सौरभले परदेश रोजेका थिए।
‘त्यतिबेला मैले यहाँ काम गरेको भए पनि त्यही ज्यालामजदूरीकै काम थियो। तर विदेशमा यहाँभन्दा काम र कमाइ पनि राम्रो होला भन्ने लाग्यो। त्यसपछि मैले परदेश रोजेँ,’ उनले सुनाए।
हेल्पर कामका लागि भनेर मलेसिया गएका उनले मलेसियास्थित टायर कम्पनीमा काम पाएका थिए। महिनाभरि काममा खट्दा कमाइ भने निकै कम थियो। त्यहाँ उनको कमाइ नेपालको २५ हजार रुपैयाँ थियो। कमाइ नभएकै कारण ३ वर्षको करार अवधिका लागि मलेसिया गएका उनी २ वर्षमै स्वदेश फर्किए।
मलेसियाबाट फर्किएर उनले स्वदेशमै केही गरौँ की भन्ने सोचे। तर साउदीमा राम्रो कमाइ हुने सुने। पसिनासँग पैसा साटेर गुजारा गर्नेहरुलाई कमाइ राम्रो सुनेपछि लोभ लाग्नु स्वाभाविक हो। उनको मन त्यतै लोभियो। त्यसपछि उनी साउदीमा चिया पकाउने कामका लागि पुगे। काम दैनिक ८ घण्टा भनिएको थियो। ९ देखि १० घण्टासम्म खट्नुपर्थ्यो। कमाइ महिनाको ३० हजार नेपाली रुपैयाँ।
परदेशको ठाउँ ३० हजार कमाइ। ‘स्वदेशमै यसरी खट्न सके, ३० हजार कमाइ कसो नहोला?,’ उनले यही सोचे। करार अवधि सकेर उनी स्वदेश फर्किए।
बुबा टायल बिच्छ्याउने काम गर्थे। विदेशबाट फर्किएर बुबासँग बुझ्दा उनलाई आफ्नै बुबाको पेशामा पसिना बगाउन मन लाग्यो। ‘जहाँ पनि काम नै त गर्ने हो। झन् आफ्नै परिवारसँग बसेर काम गर्न पाउनु निकै खुसीको कुरा हो,’ उनी भन्छन्, ‘फर्किएर बुबासँग सल्लाह गरेँ। त्यसपछि काम सिकेँ।’
केही दिनमै उनले त्यो काम सिके। लगभग १५ दिनजतिमा त उनले राम्रोसँग काम गर्न थाले। बुबा साथमै भएकाले काम सिक्न गाह्रो पनि भएन।
सुरुमा काम गर्दा त दिनको १ हजार कमाउथे। काममा पोख्त हुँदै गए। दैनिक १२ सयबाट ज्याला १५ सय पुग्यो। ‘मेहनतअनुसार कमाइ राम्रो छ। आफूसँग सीप भयो भने नेपालमै काम पाउन गाह्रो छैन,’ सौरभ भन्छन्।
फेरि उनका बुबा श्याम श्रेष्ठले बेलाबेला उनलाई अर्ति दिइरहन्छन्। २२ वर्षदेखि टायलकै काम गर्दै आएका उनी भन्छन्, ‘मलाई त देश पनि यही विदेश पनि यहीँ।’ श्यामले पनि परिवार पाल्नबाहेक अर्को उपलब्धि गर्न सकेका छैनन्। तर यस्तै कामका लागि विदेश धाउनेहरुको अवस्था पनि त उस्तै हो। त्यही सम्झिएर उनी आफ्नो संघर्षसँग ढुक्क छन्। ‘आफूसँग सीप छ देशमै सबथोक छ,’ छोरा सौरभलाई पनि उनले यही सिकाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।