काठमाडौं– मलेसियाले नेपाली कामदार भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिने पुरानै नीति कायम राखेको छ । नेपालले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई मलेसियामा कामदार पठाउन दिन गरेको प्रस्ताव मलेसियाले अस्वीकार गरेको हो ।
मलेसियाको मानव संसाधन मन्त्रालयले पत्र पठाउँदै २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनका मातहतका १०–१० वटा सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने व्यवस्था कायम रहने जनाएको छ । यसअनुसार कुल १२५ वटा म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउनेछन् ।
नेपालले भने १ हजार ११४ वटा सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध गराउन आग्रह गरेको थियो । तर, मलेसियाले नेपालको प्रस्ताव स्वीकार नगरेपछि कामदार पठाउन पाउने म्यानपावर कम्पनीको संख्या विस्तार हुन सकेन ।
प्रधानमन्त्री बालेन्द्र शाहको पहलबीच पनि मलेसियाले आफ्नो नीतिमा परिवर्तन नगरेको हो । नेपालको प्रस्तावअनुसार सबै इजाजतप्राप्त कम्पनीलाई अवसर दिँदा म्यानपावर व्यवसायमा प्रतिस्पर्धा बढ्ने र कामदार पठाउने प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको थियो ।
मलेसियाले भने सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, नियमन र लेखापरीक्षण सहज हुने तर्क गरेको छ । साथै, श्रमिकका गुनासा तथा श्रमसम्बन्धी विवाद समाधान गर्न पनि यस्तो व्यवस्थाले मद्दत पुग्ने उसको भनाइ छ ।
मलेसियाको निर्णयसँगै नेपालका अधिकांश सक्रिय म्यानपावर कम्पनीले उक्त मुलुकमा कामदार पठाउने प्रक्रियामा प्रत्यक्ष सहभागी हुन पाउने छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।