काठमाडौं– वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको विस्तृत विवरण मागेको छ।
मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला विभागले आर्थिक कारोबारसहित व्यावसायिक विवरण मागेको हो।
विभागले आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको तथा चालु आव २०८३/८४ को हालसम्मको विवरण १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
म्यानपावर कम्पनीसँग श्रमिक पठाएको संख्या, पूर्वस्वीकृति तथा श्रम स्वीकृति, सेवा शुल्क, प्रवर्द्धन खर्च, एजेन्ट तथा प्रतिनिधिलाई गरिएको भुक्तानी, प्रशासनिक खर्च र शाखा सञ्चालनसम्बन्धी विवरण मागिएको छ।
त्यस्तै विदेशी एजेन्ट तथा साझेदारसँगको कारोबार, ठूला वित्तीय कारोबार, आयकर तथा भ्याटसम्बन्धी विवरण, लेखापरीक्षण भएको वित्तीय विवरण, श्रमिकको बाँकी दायित्व, फिर्ता रकम, क्षतिपूर्ति तथा वित्तीय विवादको विवरणसमेत विभागले खोजेको छ।
विभागका महानिर्देशक नवराज ढकालले विभागमा रहेको विवरण अद्यावधिक गर्ने क्रममा २५ कम्पनीसँग छुटेका विवरण मागिएको बताए।
‘कति मान्छे पठाए, के गरे, कति कर्मचारीसँग पैसा लिइरहेका छन् भन्ने विस्तृत विवरण माग गरिएको हो,’ ढकालले भने।
उनका अनुसार अहिले २५ कम्पनीसँग विवरण मागिए पनि प्रक्रिया यत्तिमै नरोकिने र अन्य म्यानपावर कम्पनीसँग पनि क्रमशः विवरण मागिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।