काठमाडौं– जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेशिक रोजगार विभागले अनुसन्धान गर्ने भएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विवादित यामानोसँग नोभेम्बरमा नेपालमा जब फेयर गर्ने कार्यक्रम सार्वजनिक भएपछि व्यवसायीहरुको ह्वाट्सएप गु्रपमा यामानोले म्यानपावर व्यवसायी र जापान जान चाहने नेपाली कामदारसँग झुक्काएर अनधिकृत रुपमा पैसा असुलेको व्यवसायीहरुले नै बताएपछि म्यानपावर व्यवसायीहरुकै उजुरीका आधारमा विभागले अनुसन्धान गर्ने भएको हो।
यामानो नेपालमा हरेक तीन महिनामा भिजिट भिसामा आएर व्यावसायिक गतिविधि गरिरहेको र पैसा असुलीको आरोप लाग्दै आएको छ। उनले भिसाको दुरुपयोग गरेको विषयमा अध्यागमन विभागले समेत अनुसन्धान गर्न सक्छ।
जापानका विभिन्न कम्पनीबाट कामदारको माग ल्याएर नेपाली म्यानपावर कम्पनीलाई उपलब्ध गराउने र रोजगारदाताले सम्पूर्ण खर्च व्यहोरेर कामदार निःशुल्क जापान जानुपर्ने व्यवस्थाका बाबजुद यामानोले कामदारसँग प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म उठाउने गरेको व्यवसायीहरूको आरोप छ। यामानोसँग संघले सहकार्य गर्न लागेको विषयले उनीसँग रकम लिने व्यवसायीहरुले यसको चर्को विरोध गरेका छन्।
यामानोले एक बर्षअघि जापानमा जब फेयरको नाममा नेपाली म्यानपावर व्यवासायीसँग जनही २५ लाखसम्म उठाएका थिए। केहि व्यवसायीहरुले उनको ठगी धन्दा थाहा पाएपछि उनले केहिको रकम फिर्ता गरेका छन् भने केहिको फिर्ता गर्न बाँकी छ।
व्यवसायीहरूका अनुसार यामानो हरेक तीन महिनामा नेपाल आउने गरेका छन्। नेपाल आएर कामदारसँग गैरकानुनी रूपमा रकम उठाउने र हुन्डीमार्फत रकम जापान लैजाने गरेको आरोपसमेत उनीमाथि लागेको छ। नेपालमा यामानोलाई गणेश लामाले समन्वय तथा सहयोग गर्ने गरेका छन्।
नेपाल सरकारले जापानमा दक्ष कामदार पठाउने सम्बन्धमा तयार गरेको कार्यविधिअनुसार कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था छ। यस्तो व्यवस्थाबीच यामानोले कामदारबाट लाखौं रुपैयाँ असुल्ने गरेका छन्।
विभागकी प्रवक्ता विन्दा आचार्यले एसएसडब्ल्यूअन्तर्गत जापान जानका लागि कामदारले रकम तिर्न नपर्ने तर यस विषयमा रकम लिएर ठगी गरेको भए अनुसन्धान हुने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।