काठमाडौं– राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रमअन्तर्गत दुई हजार ८६५ जनालाई तालिम प्रदान गर्न योग्य रोजगारदाताबाट सूचीकरणका लागि पुनः आवेदन आह्वान गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले राष्ट्रिय अप्रेन्टिसिप तालिममा दुई हजार ४६५ जना, जेन जेड घाइते तथा सहिद परिवारका लागि सीपमूलक तालिममा ३०० जना र कार्यस्थलमा आधारित तालिममा १०० जनालाई सहभागी गराउने भएको हो ।
प्रतिष्ठानका अनुसार सूचीकरणका लागि आवेदन दिने रोजगारदाता प्रचलित कानुनअनुसार दर्ता भई कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ । सम्बन्धित सीप वा पेसामा कम्तीमा पाँच जनालाई रोजगारी दिइरहेको, स्थायी लेखा नम्बर ९प्यान० वा मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएको, पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको तथा तालिम सञ्चालनका लागि आवश्यक पूर्वाधार भएको हुनुपर्ने सर्त तोकिएको छ ।
रोजगारदाताले आवेदनसँगै संस्था दर्ता, प्यान वा भ्याट दर्ता तथा कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । संस्थाको संक्षिप्त परिचय, कार्यरत जनशक्तिको विवरण, सञ्चालन गर्न सकिने तालिमका विषय र उपलब्ध पूर्वाधारसम्बन्धी विवरणसमेत आवेदनमा समावेश गर्नुपर्नेछ ।
प्रतिष्ठानले तालिममा सहभागी हुने व्यक्तिको सामाजिक सुरक्षाबापतको दायित्व आफैँले व्यहोर्ने गरी यसअघिको व्यवस्थासमेत संशोधन गरेको छ ।
इच्छुक रोजगारदाताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रतिष्ठानमा आवेदन बुझाउनुपर्नेछ । यसअघि आवेदन पेस गरिसकेका रोजगारदाताले भने पुनः आवेदन दिनु नपर्ने प्रतिष्ठानले जनाएको छ ।
तालिम तथा सूचीकरण प्रक्रियासम्बन्धी थप जानकारी प्रतिष्ठानको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।