काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले आचार्यले सार्वजनिक पदमा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको निष्कर्षसहित भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै कसुरमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आचार्य २०५४ साल कात्तिक २ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। जिल्ला विकास समिति खोटाङमा गाविस सचिवका रूपमा नियुक्त भएका उनी विभिन्न कार्यालयमा कार्यरत रहँदै आएका थिए। आयोगले २०८० साल मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी उनको तथा एकाघर परिवारका सदस्यको आम्दानी र खर्चको विस्तृत विश्लेषण गरेको थियो।
अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा रहेको देखिएको छ। तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, विभिन्न व्यक्तिलाई ऋण सापटी, शेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायत शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।
वैधानिक आम्दानीको तुलनामा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले उक्त रकमलाई गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति ठहर गरेको छ। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको कसुर गरेको दाबी गर्दै आचार्यविरुद्ध बिगो कायम गरी कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबी लिइएको छ।
आयोगको अनुसन्धानले आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न व्यक्ति, बैंक खाता, घरजग्गा कारोबार तथा शेयर लगानीमार्फत परिचालन गरी त्यसको वास्तविक स्रोत लुकाउने प्रयास गरेको देखाएको छ। काठमाडौं महानगरपालिका–१० र ३५ मा रहेका घरजग्गा खरिद तथा बिक्री, भक्तपुरमा रहेको हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा लगानी, काठमाडौंको गोठाटारमा जग्गा खरिदका लागि बैना भुक्तानी, मोरङको विराटनगर तथा टंकिसिनवारीमा जग्गा कारोबार, विभिन्न व्यक्तिलाई ऋण सापटी र शेयर खरिदबिक्रीलगायत कारोबारमा यस्तो रकम प्रयोग भएको आयोगको दाबी छ।
आयोगका अनुसार आपराधिक गतिविधिबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँ ६७ पैसा बराबरको सम्पत्तिलाई विभिन्न चरणमा स्थानान्तरण, तहगत कारोबार र पुनः प्राप्ति गर्ने प्रक्रियामार्फत लुकाउने तथा वैध देखाउने काम गरिएको छ। यसरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप सजाय र सम्पत्ति जफत गर्नसमेत मागदाबी गरिएको छ।
यस प्रकरणमा आचार्यकी श्रीमती ललिता राजभण्डारीलाई गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मतियारको आरोप लगाइएको छ। त्यस्तै, उनकी छोरी निलु आचार्य र सरु आचार्यलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
त्यसैगरी भक्तपुरको मध्यपुर थिमि–२ की प्रभा बस्नेत र काठमाडौं महानगरपालिका–३२ की कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपैयाँ ८ पैसा बिगो कायम गरी भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मागदाबी लिइएको छ। आयोगले उनीहरूलाई आचार्यको गैरकानुनी सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न रहेको आरोप लगाएको छ।
अख्तियारले आचार्य, उनकी श्रीमती ललिता राजभण्डारी तथा अन्य प्रतिवादीहरूको नाममा रहेको र गैरकानुनी रूपमा आर्जित सम्पत्तिबाट जोडिएको सम्पत्ति जफत गर्नसमेत माग गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै कसुरसम्बन्धी मागदाबी लिएर सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।