काठमाडौं-कोरोना भाइरस (कोभिड १९) चीनबाट फैलने क्रम तीव्र भइरहेकै बेला नेपाली कामदारहरु रोजगारीको खोजीमा त्यहीँ पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै श्रम स्वीकृति लिएर १४ नेपाली कामदार चीन पुगेका हुन्। उनीहरु पुनः श्रम स्वीकृति (रिइन्ट्री) तथा नियमीतिकरणमार्फत् चीन पुगेको विभागको तथ्यांकले देखाउँछ।
रोजगारीको खोजीमा छिमेकी मुलुक चीनमा पनि श्रम स्वीकृति लिएर मासिक २० देखि ५० को हाराहारीमा नेपाली कामदारहरु पुग्ने गरेका छन्।
गत मंसिरमा २५ जना र पुसमा २० नेपालीहरु श्रम स्वीकृति लिएर चीन गएका थिए। यस्तै, कात्तिकमा ३९ जना श्रमिक चीन पुगेका थिए।
केही दिन यताभने श्रम स्वीकृति लिएर श्रमिकहरु चीन नगएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख उमेश बस्नेत बताउँछन्।
‘पछिल्लो समय मकाउलगायत चीन वरपरका मुलुकमा श्रम स्वीकृति लिएर श्रमिकहरु गइराख्नु भएको छ। चीन भने जानु भएको छैन,’ कार्यालय प्रमुख बस्नेतले नेपाल लाईभसँग भने। कोरोना संक्रमित अन्य मुलुकहरुमा पनि नेपाली श्रमिकहरु गइरहेका छन्।
व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेको संख्यामा कमी आएको छैन।
पछिल्लो समय वैदेशिक रोजगारीमा संस्थागत (म्यानपावर)मार्फत् जाने कामदारको संख्यामा कमि आए पनि व्यक्तिगतमार्फत् जाने कामदारको संख्यामा कमि नआएको कार्यालय प्रमुख बस्नेतको भनाइ छ। ‘वैदेशिक रोजगार काठमाडौं कार्यालयबाट मात्रै दैनिक ६ सयभन्दा बढी युवाहरु श्रम स्वीकृति लिइरहनु भएको छ, रिइन्ट्री लिनेको संख्यामा पनि कमि आएको छैन,’ उनले भने।
कोरोना प्रभावित मुलुकको अवस्था हेरेर श्रम स्वीकृति स्थगित गर्न सकिने
कोरोना प्रभावित मुलुकहरुमा संक्रमणको अवस्था हेरेर कामदार पठाउने वा नपठाउने भन्ने विषयमा निक्र्यौल गरिने श्रम मन्त्रालयले जनाएको छ।
श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्नुपर्ने अवस्था आएमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ मन्त्रालय, कूटनीतिक नियोग तथा म्यानपावर व्यवसायीलगायत सबै सरोकारवाला निकायबीच छलफल हुने मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए।
‘हामी गन्तव्य देशको अवस्था हेरेर मात्रै श्रम स्वीकृति स्थगित गर्छाैं, श्रम स्वीकृति स्थगित गर्नुपर्ने अवस्था आयो भने सरोकारवाला सवैसँग छलफल हुन्छ। तत्कालका लागि स्थगित गर्नुपर्ने अवस्था देखिएको छैन।’
८० भन्दा बढी मुलुकमा फैलियो कोरोना संक्रमण
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया, जापान, इटली, फ्रान्स, अमेरिका, जर्मनी, मलेसिया, क्यानडा, लेवनान, इजरायल, कतार, ओमान, पोल्याण्ड लगायत ८० बढी मुलुकमा फैलिइसकेको छ।
कोरोना संक्रमण फैलिएका प्रायः मुलुकहरु नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरु नै हुन्।
बिहीबार बिहानसम्म चीनमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ भने ८० हजार संक्रमित भइसकेका छन्। करिब ५२ हजार निको भएको उल्लेख छ। कामदारको प्रमुख गन्तव्य मुलुक दक्षिण कोरियामा कोरोनाबाट ३५ जनाको मृत्यू भएको छ भने ५ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन्। कोरियामा तत्कालका लागि नयाँ कामदार पठाउन स्थगित गरिएको छ। बिदामा आएका कामदारहरु भने गइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।