काठमाडौं। श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर भोजपुरको षडानन्द नगरपालिकामा ‘श्रम ब्रिगेड’ गठन गरेको छ। पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको ब्रिगेडको संयोजकमा रजत किराती चयन भएका छन्।
सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिँदा तत्काल परिचालन भई मर्मत, व्यवस्थापन र सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले श्रम ब्रिगेड गठन गरिएको पार्टीले जनाएको छ।
श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टोलीका रूपमा परिचालित हुनेछ। टोलीसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरण रहनेछन्। सार्वजनिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो प्रशासनिक प्रक्रियामा निर्भर हुनुभन्दा तत्काल जनशक्ति परिचालन गरी समस्या समाधानमा सहयोग पुर्याउने यसको मुख्य अवधारणा छ।
ब्रिगेडलाई षडानन्द नगरपालिकाभित्र दुईदेखि तीनवटा वडालाई समेटेर पाँचदेखि छवटा क्लस्टरमा विभाजन गर्ने योजना छ। प्रत्येक क्लस्टरका संयोजक नगर श्रम ब्रिगेडका पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिएमा सम्बन्धित क्लस्टरबाट आवश्यक जनशक्ति र उपकरणसहित टोली परिचालन गरिनेछ। श्रमदान, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नु ब्रिगेडका प्रमुख कार्यक्षेत्र हुनेछन्।
श्रम संस्कृति पार्टीले आगामी स्थानीय तह निर्वाचनमा विजय हासिल गरेको अवस्थामा श्रम ब्रिगेडलाई नगरपालिकाको प्रमुख अर्थात् ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।
श्रमको सम्मान, सीपको उपयोग र सामूहिक प्रयासमार्फत स्थानीय विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा अघि सारिएको षडानन्द नगर कार्यसमितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।