काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तत्काल कोरोना प्रभावित मुलुकमा श्रम स्वीकृति स्थगित नगरिएको बताएका छन्।
केही सञ्चार माध्यमहरुमा श्रम स्वीकृति स्थगित गरिएको भ्रमपूर्ण समाचार सम्प्रेषित भए पनि रोक लगाइनसकेको तर यस विषयलाई गम्भीरताका साथ हेरिएको मन्त्री यादवले बताएका हुन्।
‘यो विषय निकै संवेदनशील छ, परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सरोकारवालाहरु सबैसँग बसेर यस विषयमा छलफल भएपछिमात्रै कामदारको श्रम स्वीकृति केही समयका लागि रोक्ने वा नरोक्ने भन्ने विषयमा टुंगो लाग्छ‚’ मन्त्री यादवले नेपाल लाइभसँग भने।
मुलुकहरुमा कोरोना संक्रमणको अवस्था हेरेर सो सम्बन्धमा निर्णय गरिने मन्त्री यादवले बताए। कोरोना भाइरसबाट संक्रमित मुलुकहरुमा कामदार पठाउन संवेदनशील भएर सोच्नुपर्ने उनको भनाइ छ।
कोरोना प्रभावितबाहेक अन्य गन्तव्य मुलुकहरुमा कामदार पठाउन रोक लगाउनु पर्ने अवस्था छैन : व्यवसायी
म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसासी संघले कोरोना प्रभावित मुलुकहरु बाहेकका अन्य गन्तव्य मुलुकहरुमा तत्काल कामदार पठाउन रोक लगाउनुपर्ने अवस्था नरहेको बताएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै संघले कोरोना संक्रमणबारे वास्तविकताभन्दा बढी भ्रमात्मक कुराहरु फैलाइएकाले आप्रवासनलाई थप त्रसित बनाएको जानकारी दिएको हो।
‘कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले कोरिया जाने कामदारको उडानलाई केही समयका लागि स्थगित गरेको छ, कुवेत सरकारले पनि हिजोदेखि वर्कपर्मिटमा रोक लगायो। अन्य कुनै पनि मुलुकबाट कामदार नपठाउनू भनेर आधिकारिक धारणा आएको छैन‚’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रेले भने।
सोमबार सर्वोच्च अदालतले चीन, जापान, कोरिया, इटालीलगायतका कोरोना प्रभावित मुलुकमा उडान बन्द गर्न आदेश जारी गरेको छ।
सो आदेशको कार्यान्वयन गर्नेबारे छलफल भइरहेको तर रोक लगाइनसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।