काठमाडौं- नेपाली कामदारको सम्भावित आकर्षक गन्तव्य मुलुक बन्नसक्ने अफ्रिकी मुलुक मौरिसससँग भएको श्रम समझदारी कार्यान्वयनको पाटो टुंग्याउन बिहीबार(आज) मौरिससमा मन्त्रीस्तरीय छलफल हुँदैछ।
नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सचिवसहितको टोली त्यहाँ पुगेको छ। मन्त्री यादवले कामदार पठाउने विषयमा समकक्षीसँग छलफल गर्नेछन्।
मन्त्रीका प्रेस सल्लाहकार विजय यादवकाअनुसार उनले मौरिससका प्रधानमन्त्री प्रभिण्ड जगनउथसँग समेत भेटघाट गर्नेछन्।
नेपाल–मौरिससबीच गत जेठमा समझदारी भएको थियो।
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मौरिससका तर्फबाट श्रम, औद्योगिक सम्बन्ध तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारीमा हस्ताक्षर गरेका थिए।
समझदारी कार्यान्वयनको पाटो संयुक्त कार्यदल(ज्वाइन्ट कमिटी)को बैठकले टुंगो लगाउने भनिएको थियो।
समझदारीको ८ महिना बितिसक्दा पनि ज्वाइन्ट कमिटीको बैठक बस्न नसकेपछि समझदारीको पाटो टुंग्याउन मन्त्री स्वयं मौरिस गएका हुन्।
मन्त्रीस्तरीय छलफलबाट कामदार भर्ना प्रकृया, लागतलगायत विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
यही छलफलबाट मौरिससले कुन–कुन क्षेत्रमा कति नेपाली कामदार लैजाने विषयमा समेत टुंगो लाग्ने छ। आजको छलफलबाट यी लगायत विषयमा टुंगो लाग्न नसके पुनः बैठक बस्नेछ।
के छ नेपाल-मौरिसस श्रम समझदारीमा ?
अन्तराष्ट्रिय मापदण्डअनुसार कामदारले पारिश्रमिकलगायत सेवासुविधा पाउने गरी समझदारी गरिएको उल्लेख गरिएको छ।
कामदार छनोट तथा भर्ना प्रकृया, आतेजाते हवाइ टिकट शुल्कसमेत रोजगारदाताले नै बेहोर्ने उल्लेख छ।
कामदारबाट अवैध शुल्क लिन नपाउने गरी दुवै देशले नियमन गर्ने प्रतिबद्धता समझदारीमा छ। यस्तै, स्थानीय नागरिकसरह नेपालीलाई व्यवहार गर्नुपर्ने छ। कामदार विमानस्थल पुगेको ६ घण्टाभित्र रोजगारदाताले कम्पनीमा लगिसक्नुपर्ने छ।
कामदारको स्वास्थ्य, दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने छ। कामदारले आफ्नो राहदानी (पासपोर्ट) आफैँसँग राख्न पाउने व्यवस्था छ। मौरिसससँग गरिएको समझदारीमा नेपाली कामदारले उपदान (हरेक वर्ष एक महिनाको तलब बराबर) रकमसमेत पाउने छन्।
गन्तव्य मुलुकमा कामदारको मृत्यु भएमा तत्काल शव नेपाल फर्काउनुपर्ने, शव ढुवानी शुल्क रोजगारदाताले नै बेहोर्नु पर्ने व्यवस्था गरिएको छ। त्यस्तै श्रमिकहरुले निःशुल्क कानुनी उपचार पाउने प्रावधान छ।
आकस्मिक अवस्थामा वा आफन्तको मृत्यु भएमा बिदा पाउने व्यवस्था गरिएको छ।
यस्ता छन् मौरिससमा नेपालीलाई अवसर
वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरु विविधीकरण गर्ने उद्देश्यले सरकारले मौरिसससँग श्रम समझदारीको प्रकृया अगाडि बढाएको हो।
मौरिसस नेपाली कामदारका लागि सम्भावित आकर्षक गन्तव्य मुलुक मानिन्छ। मौरिससमा होटल, अतिथि सत्कार, निर्माण क्षेत्रमा ठूलो संख्यामा कामदारको आवश्यकता रहेको उल्लेख गरिएको छ।
मौरिससको हावापानी र धर्मसंस्कृति पनि नेपाली कामदारका लागि अनुकूल छ। कामदार छनोट तथा भर्ना प्रकृयालाई पारदर्शी, निष्पक्ष बनाइनेबारे दुवै मुलुकबीच समझदारी भइसकेको छ। सो समझदारी कार्यान्वयन भएमा नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको बाटो खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।