काठमाडौं- 'नेपाल भ्रमण वर्ष २०२०' (भिजिट नेपाल २०२०)को राष्ट्रिय संयोजकमा सरकारले व्यवसायी सुरज वैद्यलाई नियुक्त गरेको एक वर्ष पूरा भएको छ।
तर, सरकारले सोचेअनुरुप भ्रमण वर्षको तयारी हुन नसकेको पर्यटन क्षेत्रका व्यवसायी भनाइ एक वर्षदेखि ज्यूँ का त्यूँ नै छ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको इच्छाविपरीत राष्ट्रिय संयोजकमा जिम्मेवारी पाएका वैद्य आफैं पनि सार्वजनिक कार्यक्रममा बोल्दै गर्दा साचेअनुरुपमा काम हुन नसकेको स्वीकार गर्छन्।
'भिजिट नेपाल २०२० राष्ट्रकै कार्यक्रम हो,’ संयोजक वैद्य भन्छन्, 'यो अभियान सफल बनाउन सबैको सबै तवरबाट सहयोग चाहिन्छ। भिजिट नेपाल २०२० सचिवालय र सरकारले मात्रै सफल बनाउन सक्ने होइन। हाम्रो काम त सबैको सहयोगी भूमिकामा काम गर्ने हो।’
तर, वैद्यले यसो भन्दैगर्दा केही समयअगाडि पर्यटन बिटमा कलम चलाउने पत्रकारहरूसँको अन्तर्क्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भनेका थिए, 'भिजिट नेपाल अभियान सफल बनाउन जसले जे भूमिका पाएका छन्, त्यो सही तवरबाट पूरा गर्नपर्छ। होइन भने काम गर्न नसक्नेले पद ओगटेर बस्नुभन्दा समयमै बाटो खुला गरिदिनुपर्छ।’
'भिजिट नेपाल २०२०' बनाउने निर्णण भएको पनि साढे २ वर्षभन्दा बढी भइसकेको छ।
तर, भ्रमण वर्षका लागि राष्ट्रिय संयोजक नियुक्त भएको झन्डै ५ महिनापछि मात्रै वैद्यले सचिवालय खडा गरेका थिए। यसरी सचिवालय बनाएका वैद्यले पछिल्लो सयम केही सीमित व्यक्तिलाई जागिर खुवाउने थलो बनाएको आरोप समेत भोग्न थालेका छन्।
भ्रमण वर्षको प्रवर्द्धनको कार्यक्रममा पनि विदेश तथा विदेशी पाहुनालाई नेपाल बोल्याएर गर्नुपर्ने भए पनि वैद्यको सचिवालयले खासै काम गर्नसकेको छैन। वैद्यको सचिवालयका नाममा सरकारले विभिन्न शीर्षकमा एक अर्बभन्दा बढी रकमसमेत निकासा गरिसकेको छ। त्यसको उपलब्धि भने शून्य जस्तै छ।
वैद्यको सचिवालयका कर्मचारी तथा वैद्यले नेपालमै नेपालीलाई केन्द्रित कार्यक्रममात्रै गरेका छन्।
उनले कहिले पर्यटन व्यवसायी, कहिले कलाकार, कहिले राजनीतिक दल त कहिले प्रदेशस्तरीय छलफलमा बढी जोड दिएका छन्।
त्यसमा पनि विदेशी पर्यटकलाई नेपाली गन्तव्यको प्रचार गर्दै आगमन बढाउने प्रवर्द्धनात्मक कार्यक्रमको सट्टा नेपालमै छुट तथा अफरको कार्यक्रम घोषण र स-सना काममा वैद्य व्यस्त देखिन्छन्।
पर्यटन व्यवसायी सुमन पाण्डे पनि 'भिजिट नेपाल २०२०'को अभियानमा केही सुस्तता देखिए पनि कार्यक्रम भने भइरहेको बताउँछन्। तर, अहिले भइरहेको काम गराइको गतिलाई भने बढाउनु पर्ने उनको तर्क छ।
सरकार तथा सचिवालयले अहिलेसम्म खासै अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धनको कार्यक्रम गर्न नसकेको स्वीकार्दै उनले यसतर्फ अगाडि सारिएका कार्यक्रम भने राम्रा रहेका जिकिर गरे। सचिवालयले अगाडि सारेका कार्यक्रमहरूलाई कार्यान्वयनमा ल्याउन विदेशी साझेदारहरू नियुक्ति गर्दै उनीहरूको योजनासहित अगाडि बढ्नुपर्ने पाण्डेले सुझाए।
होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह पनि 'जे-जति तयारी भएको छ, यो नै पूर्ण भने नभएको' बताउँछन्। तर, सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि होटलले भने आजकै दिनमा २० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको उनको दावी छ। 'तर, हामीलाई पूर्वाधारले भने सताएको छ,' उनले भने।
सरकारले जसरी चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा सडक सरसफाइदेखि काठमाडौं सजावट गरेको थियो। त्यसको अब निरन्तरता चाहिने उनको भनाइ छ।
संयोजकमा वैद्यको आगमनमा पर्यटन व्यवसायीकै विरोध
सरकारले 'भ्रमण वर्ष २०२०'को राष्ट्रिय संयोजकको रुपमा सुरज वैद्यलाई नियुक्ति गरेसँगै पर्यटन व्यवसायीले विरोध गरेका थिए। पर्यटन व्यवसायीले भ्रमण वर्षको संयोजकको भूमिकामा पर्यटन क्षेत्रभन्दा सवारीसाधान व्यापारमा लागेका व्यक्तिलाई नियुक्त गरेको भन्दै विरोध जनाएका थिए।
व्यवसायीले भनेजस्तै संयोजक वैद्यले पनि भ्रमण वर्षका लागि समय नै दिन सकेका छैनन्। वैद्य आफैं भ्रमण वर्षका विषयमा छलफल गर्न भन्दै तय भएका कतिपय कार्यक्रममा उपस्थित हुँदैनन्। भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन कुनै समस्या नरहेको मात्रै बताउँदै आएका छन् उनी।
तर, कसरी २० लाख पर्यटक भित्र्याउने र पर्यटकको खर्च र बसाई कसरी लम्ब्याउने भन्ने विषयमा उनले आजसम्म कुनै खाका ल्याउन सकेका छैनन्।
अहिले प्रति पर्यटकको बसाइ सरदर १२ दिनको छ भने खर्च प्रतिदिन ५२ डलर मात्रै छ। सरकारले पर्यटकको बसाइ १४ दिन र खर्च यसै वर्ष ५४ डलर पुर्याउने लक्ष्य लिए पनि पूरा नहुने अवस्था देखिएको छ।
तर, वैद्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा गत कात्तिक १६ गते राष्ट्रिय संयोगक नियुक्ति गरिएको थियो।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।