काठमाडौं– २०७५ असोज २७ गतेबाट यात्रु अभाव देखाउँदै उडान बन्द गरेको मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाले झन्डै एक वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तत्कालीन कर्मचारी र नेपाल प्रतिनिधिका कारण आफूहरुको बदनाम भएको बताएको छ।
विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डलाई झन्डै ३२ करोडभन्दा बढी बक्यौता चुक्ता नगरी उडान बन्द गरेको एयर एसियाले पुनः नेपालमा उडानमा चासो देखाउँदै्र यस्तो अभिव्यक्ति दिएको हो।
‘विमानस्थल तत्कालीन कर्मचारी र नेपाल प्रतिनिधिको मिलोमतोमा हामीलाई बदनाम गर्ने काम भयो। मिलोमतोमा राजस्व हिनामिना भएको रहेछ। यसमा हामीलाई बेखबर बनाइयो,’ एयर एसिया मलेसियाबाट आएका प्रतिनिधिले छलफलमा यस्तो गुनारो गरेको गरेको विमानस्थल उच्च स्रोतले बतायो।
एयर एसियाले नेपाल उडान पुनः सुचारु गर्ने भन्दै चासो राखे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले पुरानो बक्यौताको विषय उठान गरेको थियो।
तर, एयर एसियाका प्रतिनिधिले आफूहरुलाई हवाई उड्डयन क्षेत्रमा नकारात्मक असर गर्नेगरी बदनाम गराउने नेपाल प्रतिनिधि र विमानस्थका कर्मचारीको विरुद्ध न्याय चाहिएको बताएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार एयर एसियाले नेपाल सरकारबाट न्याय नपाउने अवस्था पाए अन्तर्राष्ट्रिय अदालतसम्म गएर भए पनि न्याय खोज्ने उनीहरुको भनाइ छ।
एयर एसियाले उडान बन्द गर्नुभन्दा अगाडिसम्म साँवा, ब्याज गरी विमानस्थल कार्यालयलाई ४० करोड रुपैयाँ तिर्न बाँकी थियो। तर, उसले उडान बन्द अगाडि साँवा रकम मात्रै २७ करोड रुपैयाँ तिरेको थियो। बाँकी १३ करोडको रकम बढेर अहिले २४ करोड रुपैयाँ हाराहारीमा पुगको छ। यस बाहेक पनि नेपाल पर्यटन बोर्डलाई बुझाउनपर्ने रकम साँवा मात्रै सवा ७ करोड रुपैयाँ बाँकी रहेको छ।
मलेसियन एयर एसियाले समेत आफूहरुले नेपाल प्रतिनिधिलाई विमानस्थल सेवाशुल्क वापत तिर्नुपर्ने रकम दिए पनि कर्मचारीसँग मिलेर नबुझाएको दाबी गर्दै आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि गत माघतिर विमानस्थल सेवाशुल्क वापत भुक्तानीका लागि एयर एसियाले दिएको चेक रकम खातामा दाखिला नगरेको फेला पारेको थियो।
रकम खाता दाखिला नभएको फेला रहश्य खुलेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कागजपत्र जफत गर्दै अनुसन्धान थालेको थियो। तर, ८ महिना हुनै लाग्दा पनि अख्तियारले केही निर्क्योल निकाल्न सकेको छैन।
योसँगै एयर एसियाको बक्यौता रकमको विषयमा हवाई सेवा प्रदायक कम्पनीबाट प्राप्त चेकमा उल्लेख भएको रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको बैंक खातामा नियतवस जम्मा नगर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख गरेको थियो।
प्राधिकरणमा २०७२/७३ र २०७३/७४ मा प्राप्त भएकामध्ये प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५ करोड २६ लाख ९ को चेक बैंक दाखिला नभएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको थियो।
साथै महालेखाले एक हवाई सेवा प्रदायकबाट ल्यान्डिङ तथा पार्किङ शुल्कवापत प्राप्त चेक प्राधिकरणले आय लेखांकन गरी जम्मा गर्न बैंकमा पठाएकोमा २०७२/०७३ को ५३ लाख ५३ हजार र २०७४/०७५ को रु ४ करोड ५० लाख समेत ५ करोड ३ लाख ५३ हजारको चेक बाउन्स भई बैंक खातामा जम्मा नभएको व्यहोरा २०७५ असार मसान्तपछि हिसाब मिलान विवरण तयार गर्ने क्रममा मात्र जानकारी प्राप्त भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
प्रत्येक महिना बैंक हिसाब मिलान नगर्ने, आम्दानी हिसाब अद्यावधिक नगर्ने र चेक बाउन्स भएकोमा समेत समयमै जानकारी प्राप्त नगर्ने अवस्था देखिएकोले चेक वाउन्स भएकोमा बैंकिङ कसुर सम्बन्धी कारबाही नचलाउने पदाधिकारीलाई समेत जिम्मेवार बनाई उक्त रकम असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
तत्कालीन त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्याले मलेसियन एयर कम्पनी एयर एसियाको नेपाल प्रतिनिधि कम्पनीबाट प्राप्त चेक रिसिर्भ गरे पनि खातामा रकम आएको थिएन।
यसरी सुरु भएको थियो एयर एसियामाथि संकट
नियमित उडान गरिरहेको एयर एसियाले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई विमानस्थल विकास शुल्क तथा पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटन शुल्क बापतको रकम बुझाएको थिएन। यो रकम एयरलाइन्सको टिकट खरिदमा यात्रुसँग नगद नै लिने गर्थ्यो।
विमानस्थल कार्यालयको माथिल्लो तहका कर्मचारीको मिलोमतोमा लामो समयदेखि तिर्नुपर्ने रकम नै नतिरी उडान गरिरहेको थियो। उडान सुचारु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रुपैयाँ पुगेको थियो। त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रुपैयाँ बुझाउनुपर्ने भइसकेको थियो।
एयर एसियाको नेपाल प्रतिनिधिले पटकपटक विमानस्थल कार्यालयलाई कहिले १५ दिन त कहिले एक महिनामा बाँकी बक्यौता रकम दाखिला गर्ने सहमति गरे। तर, रकम तिरेनन्। यसपछि कदम चालेका विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा एयर एसियाको कम्पनीलाई रकम नतिरे उडान बन्द गरिदिने चेतावनी सहितको पत्र काटे।
पत्र काटेलगत्तै एयरलाइन्सका प्रतिनिधि नेपाल आए। दुईपक्षीय छलफलमा एयरलाइन्स कम्पनीले मासिक ५ देखि साढे ५ करोड रुपैयाँका दरले रकम तिर्ने लिखित सम्झौता गर्यो्। तर, एयरलाइन्सका प्रतिनिधिले विलम्ब शुल्क भने छुट गरिदिनुपर्ने माग गरेका थिए। कम्पनीको प्रस्तावलाई विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीले भने शुल्क छुट नहुने जवाफ दिए। त्यसपछि कम्पनीले अप्रिल, मे र जुन महिनामा गरी १६ करोड रुपैयाँ बक्यौता दाखिला गर्योज।
तर, एयरलाइन्स कम्पनीले जुलाईको किस्ता तिर्न ढिलाइ गरेपछि विमानस्थल कार्यालयका प्रमुखले बेलाबेला कम्पनीको उडान कहिले ३० मिनेट त कहिले ४० मिनेट बन्द गरिदिएका थिए। उडानमा अवरोध गर्न थालेपछि एयरलाइन्स कम्पनीले जुलाई महिनाको बक्यौता चुक्ता गर्दै उडान बन्द गर्ने अनौपचारिक खबर दिएको थियो।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमा शोषण भएको भन्दै गत जेठ ३ गतेबाट रोजागारीमा जान प्रतिबन्ध लगाइदिए। मलेसिया जाने युवासँग विभिन्न नामको संस्था खडा गरी अवैध शुल्क संकलन गरिरहेका व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गर्न थाल्यो।
कामदारमाथि थप आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था, माइग्राम, आइएसी र ओएसी जस्ता अवैधानिक संस्था पनि बन्द भए। जसका कारण मासिक १० हजारको हाराहारीमा मलेसिया जाने कामदारको संख्या ठप्प भयो। त्यसमा पनि एयर एसियाका लागि एजेन्टका रुपमा टिकट काट्ने भिएलएन नेपालका राम श्रेष्ठ पक्राउ परे। उनले लिँदै आएको जिम्मा पूरा हुन सकेन।
एयर एसियाले विमानस्थल कार्यालयलाई तिर्न बाँकी बक्यौता त जुनसुकै समयमा पनि तिर्नुपर्छ तर, उडान नै बन्द गर्दा हवाई क्षेत्रमा नकारात्मक सन्देश जानसक्छ।
श्रेष्ठ अदालतबाट धरौटीमा छुटे तर मलेसियाको रोजागारी बन्द भइसहेको थियो। श्रेष्ठले पहिलेको जस्तै फेरि एयर एसियालाई सहयोग गरेनन्। उनले मालिन्दो एयरलाइन्सलाई सहयोग गर्न थाले। जसको प्रत्यक्ष असर एयर एसियाले भोग्नुपर्योर। एयर एसियाले मलेसियाबाट काठमाडौं आउँदा ८० देखि ९० प्रतिशत ‘अकुपेन्सी’मा नै आइरहेको थियो। तर, काठमाडौंबाट जाँदा भने ३ सय यात्रु क्षमताको जहाजमा ३० देखि ४० यात्रु लिएर गइरहेको थियो। जसका कारण अन्ततः एयरलाइन्सले १ वर्षका लागि नेपालबाट उडान बन्द गर्ने निर्णय गर्न बाध्य भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।