काठमाडौं- भन्सार राजस्व चुहावटको आशंकमा भन्सार जाँचपास परीक्षण कार्यालयले गत आर्थिक वर्षमा २ हजार भन्दा धेरै प्रज्ञापनपत्रको अनुगमन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयले २२०१ प्रज्ञापनपत्रको प्रत्यक्ष अनुगमन गरेको हो।
कार्यालयको अनुगमनबाट ५८ करोड ७२ लाख रुपैयाँ थप राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। भन्सार जाँचपास प्रक्रियाको अनुगमन गरी भन्सार विन्दूमा हुने न्यून बिजकीकरण रोक्न प्रज्ञापनपत्रको अनुगमन गरिएको हो।
भन्सारबाट न्यून मूल्यांकनमा सामान छुट्ने, कतिपय मालवस्तुको दरबन्दी नै फरक पर्ने गरेको पाइएपछि अर्थ मन्त्रालयले अगुमन गराउन थालेको हो। त्यसबाट यकिनरुपमा राजस्व सकंलन हुने र चुहावटको संभावना कम हुने मन्त्रालयको तर्क छ।
भन्सारमा किन सन्दर्भ मूल्य?
सरकारले भन्सार विन्दूमा केही वस्तुको मूल्यांकन कारोबार मूल्यका आधारमा राजस्वक संकलन गर्ने गरेको छ भने केही वस्तुमा सन्दर्भ मूल्यका आधारमा राजस्व संकलन गर्ने गरेको छ। 'कारोबारमा आधारित भन्सार मूल्यांकन, भन्सार दर निर्धारण र त्यसैबाट राजस्व संकलन एकदम सही हो। तर हामीले अपवाद राखेका छौँ। अपवाद जहाँ पनि हुन्छ,' अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार विभागमा आयोजित एक कार्यक्रममा भनेका थिए।
अहिले ९० प्रतिशतभन्दा धेरै सामान कारोबार मूल्यबाट आयात हुने उनको दावी थियो। 'हाम्रो रणनीतिक महत्वका केही औद्योगिक वस्तुहरु छन्, उत्पादनहरु छन्। कारोबार मूल्यका नाममा संसारका सबैभन्दा सस्ता र अनुदान दिइएका डम्पिङ वस्तुहरु आउनुपर्छ भन्ने सिद्धान्तको पक्षमा हामी छैनौँ। एक दर्जन त्यस्ता वस्तुहरु होलान,' उनले भनेका थिए, 'हामीले व्यवसायीहरुलाई के जानकारी दिनुपर्छ भने यो वस्तु कारोबार मूल्यमा आयात हुन सक्दैन। यो वस्तुको सन्दर्भ मूल्यमा आयात हुन्छ। तपाईंले एलसी खोलेर आयात गरिसकेपछि हामीले मूल्यांकन विधि परिवर्तन गर्यौँ भने त्यो हाम्रो कमजोरी हुन्छ। त्यसकारण हामीले यी यी वस्तुहरु हाम्रा सन्दर्भ मूल्यसँग सम्बन्धित छन्, यी वस्तु आयात गर्नुभयो भने कारोबार मूल्य स्थापति हुँदैन भनेर भन्दिनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।