काठमाडौं- नेपालकै पहिलो सुरुङमार्गको आज शिलान्यास हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्गको शिलान्यास गर्न लागेका हुन्।
ठेक्का सम्झौता भएको करिब १ महिनापछि प्रधानमन्त्री ओलीले सुरुङको शिलान्यास गर्न लागेका हुन्। असोज ६ गते बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको थियो।
सुरुङमार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ। ठेक्का सम्झौतामा सुरुङमार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख गरिएको छ।
जापान सरकारले ४० वर्षभित्र तिर्ने गरी सुरुङमार्गका लागि शून्य दशमलव शून्य १ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो।
असोज ६ गते सडक विभागअन्तर्गतको वैदेशिक सहायता समन्वय महाशाखा र ठेकेदार कम्पनी ‘हाजमा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार काम थालेको ४२ महिनामा आयोजनाको काम सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।