दाङ- देवः विकास बैंकमा भएको १८ करोड हिनामिना प्रकरणमा तत्कालीन वेस्टर्न डेभलप्मेन्ट बैंकका सञ्चालकसहित ५६ जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैंक सञ्चालक, अडिटर, सिइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना खातावालसहित ५६ जनाविरुद्ध तुलसीपुर उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो।
दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको बैंकको शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको विषय गत भदौमा सार्वजनिक भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख सुशील देवकोटाले तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैँक नारायणपुर हाल देव विकास बैँक सोही शाखाका म्यानेजर समीर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिइओसहितका कर्मचारीहरू र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रूपमा मद्दा दर्ता भएकाे हाे।
सरकारी वकिल कार्यालयले बैँकको रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैँकका सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू अर्जुन बुढाथोकी, खड्ग बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटाविरुद्ध बैंकिङ कसुरमा मद्दा चलाएको उनले जानकारी दिए।
त्यस्तै, तत्कालीन वेष्टर्न बैँकका सिइओ खिमबहादुर डीसी, बैँकका कर्जा विभाग प्रमुख अनीलकुमार न्यौपाने, लेखापरीक्षक बुटवलका प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्तबहादुर बस्नेतसहित ४३ जनामाथि मुद्दा दर्ता गरिएको छ।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको बिगो देखाइएको छ। दोब्बर बिगो कायम हुने गरी ३६ करोडभन्दा बढी रकमसहित जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरिएको छ।
देवकोटाले तत्कालीन शाखा म्यानेजर बुढाथोकीले कृत्रिम ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैँकको सो रकम हिनामिना गरेको आरोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।