काठमाडौं– ढोकाटोल काठमाडौंका तीर्थबहादुर महर्जनले सम्झना नर्सरी सञ्चालनमा ल्याएको ३ दशक भयो। सुरुदेखि फूल खेती मै काम गर्दै आइरहेका महर्जनले आफ्नै नर्सरी सञ्चालनमा ल्याएपछि आम्दानी पनि मनग्ये छ।
‘सुरुमा म अरुको फूलबारीमा मालीको रुपमा काम गर्थेँ। त्यसपछि फूलसँगै काम गर्दा आनन्द पनि आउँदै गयो,’ तीर्थबहादुरले भने, ‘त्यसपछि यही व्यवसायमा रमाउन थालेँ।’
आफ्नो नर्सरीबाट एक पटक फूल वा फूलका बिरुवाहरु किनेर लगेपछि सम्झना रहिरहोस् भनेर उनले आफ्नो नर्सरीको नाम नै सम्झना नर्सरी राखेका छन्।
‘एक पटक मसँग फूल किनेका ग्राहकहरुले फेरि फूल किन्नु पर्दा सम्झना गरुँन् भनेर नै मैले नर्सरीको नाम नै सम्झना नर्सरी राखिदिएँ, एक पटक आएका ग्राहकहरु फेरि पनि आइरहनुभएको छ, त्यसैले त व्यापार निकै राम्रो छ,’ उनी भन्छन्।
‘हिउँद र बर्खा गरेर सिजन अनुसारका फूलका बिरुवाहरु नर्सरीमा लगाउँछु, दसैँदेखि तिहारसम्मको समयमा फूलको व्यापार असाध्यै राम्रो हुन्छ, यो बीचमा ५ लाखभन्दा बढी आम्दानी हुन्छ,’ तीर्थबहादुरले नेपाल लाइभलाई सुनाए।
उनको नर्सरीमा फूलको बोट, बिरुवा र बिउ समेत पाइन्छ। तीर्थबहादुरको नर्सरीमा सबैभन्दा बढी गोदावरी फूल फूल्छन्। गोदावरी फूलको व्यापार पनि निकै राम्रो छ।
‘मैले सबैभन्दा बढी गोदावरी फूल लगाएको छु। पुराना २२ प्रजातिभन्दा बढी गोदावरी फूल मैले नर्सरीमा लगाएको छु, यो फूलको चर्चा तिहारको समयमा मात्रै बढी हुने भए पनि अरु समयमा पनि यो फूल फूल्छ, तर असार–साउनमा झरी पर्ने भएकाले बढी नै फूल बिग्रन्छन्,’ उनले भने।
विस्तारै पुराना फूलका प्रजातिहरु लोप हुँदै गए पनि फूलको माग भने बढ्दै गएको तीर्थबहादुर बताउँछन्। ‘पछिल्लो समय पुराना फूलका प्रजातिहरु लोप हुन थालेका छन्, तर फूलको माग भने बढ्दै गइरहेको छ,’ उनले भने, ‘नेपालमा फूलको उत्पादन त्यति धेरै नहुँदा मागअनुसार बजारमा फूल पुर्याफउनै मुस्किल पर्छ।’
नेपालमा फूलको माग धेरै छ। तीर्थबहादुरको दुई रोपनी जग्गामा फूलेको फूल सिजनमा त हारालुछ जस्तै हुन्छ।
तीर्थबहादुरका सबै परिवार फूलखेतीमै लागिपरेका छन्। 'हामी परिवारमा ८ जना छौँ, सबै जना यसैमा लागिपरेका छौँ, परिवार बाहेक बाहिरका ३ जनालाई हामीले रोजगारी दिएका छौँ,' तीर्थबहादुरले सुनाए।
नर्सरीबाट उनले वार्षिक २० लाखसम्म आम्दानी गर्छन्।
तीर्थबहादुर जस्तै मकवानपुरका हरिप्रसाद ढकालले पनि फूलखेतीबाट मनग्ये आम्दानी गरिरहेका छन्। सीतापाइला काठमाडौंस्थित स्वयम्भु नर्सरीबाट उनले वार्षिक १० लाखसम्म आम्दानी गर्छन्। दसैँदेखि तिहारको समयमा मात्रै वार्षिक आम्दानीको आधा कमाइ हुन्छ।
‘फूलखेतीमा मनग्ये आम्दानी छ, यो व्यवसाय छाडेर अरु व्यवसाय गर्न मन नै लाग्दैन,’ हरिप्रसादले नेपाल लाइभलाई सुनाए।
‘काम गर्दा आनन्द पनि हुने आम्दानी पनि हुने, मैले त मेरो भविष्य यसैमा देखेर यही काम सुरु गरेको,’ मुस्कुराउँदै उनले भने, ‘तर अब विस्तारै फूल खेती गर्न काठमाडौंमा जग्गा पाइएला जस्तो छैन, यहाँ ठाउँ नपाए पनि म त मेरै गाउँमा गएर भए पनि फूल खेतीलाई निरन्तरता दिन्छु।’
हरिप्रसादले भाडामा जग्गा लिएर फूल खेती गर्दै आएका छन्। नर्सरीबाट उनले कटिङ फूल र बिरुवाहरु बेच्छन्। ‘अहिलेसम्म त उत्पादन भएको फूल फाल्न परेको छैन, उत्पादन भएजति सबै व्यापार हुन्छ,’ उनले सुनाए।
पछिल्लो समय तीर्थबहादुर र हरिप्रसाद जस्ता थुप्रै युवाको आकर्षण फूल खेतीमा बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष शिवबहादुर खड्काले बताए। फूल खेती गर्न सजिलो र धेरै लागत पनि नलाग्ने हुँदा पनि फूल खेतीमा युवाहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ।
‘ग्रामीण भेगमा भन्दा सहरी भेगमा फूलको माग बढ्दै गइरहेको छ, फूलको मागसँगै उत्पादन पनि बढिरहेको छ,’ उनले भने।
एसोसियसनको तथ्यांक अनुसार नेपालमा ३ अर्ब ४० करोडभन्दा बढी वार्षिक टिपेको फूलको मात्रै व्यापार हुन्छ। एसोसिएसनका अनुसार वार्षिक १५ प्रतिशतसम्म फूलको व्यापार वृद्धि हुँदै गएको छ।
नेपालमा फूलको व्यापार बढेसँगै भारत लगायत मुलुकबाट फूल वा माला आयातमा कमी आउने जनाइएको छ।
अघिल्लो वर्ष तिहारमा भारतबाट ३ लाख माला आयात गरिएकोमा यस वर्ष आयातमा केही कमी आउने बताइएको छ। नेपालमा भारत, चीन, स्पेन, नेदरल्यान्ड लगायत विभिन्न मुलुकबाट फूल आयात गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।