नेपाल र चीनबीच सैन्य सहायतासम्बन्धी सम्झौतापत्रमा आइतबार बेइजिङमा हस्ताक्षर गर्दै रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फिङ्हे। तस्बिर: रक्षा मन्त्रालय
काठमाडौं- चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी (करिब साढे दुई अर्ब) बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ।
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आइतबार बेइजिङ्मा सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका बेला चीनले नेपाललाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ।
गत वर्ष रक्षा मन्त्रीको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो।
सम्झौतामा हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो।
रक्षामन्त्री पोखरेलले वार्ताका क्रममा चिनियाँ समकक्षीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिएका थिए । चीनका रक्षामन्त्रीले उनको निमन्त्रणा सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको रक्षा मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपाल र चीनबीच रक्षा सहकार्य पनि बढ्दै गएको छ। गत असारमा चीनको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि चिनियाँ सेनासँग साहायता पाउने सम्बन्धी सम्झौतामा हस्ताक्षेर गरेका थिए।
चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई ‘हेभी म्याकेनिकल ब्रिज’, मानवीय तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्रदान गर्ने सम्झौता भएको थियो।
नेपाली र चिनियाँ जनमुक्ति सेनाबीच सन् २०१७ देखि संयुक्त सैन्य अभ्यास पनि सुरु भएको छ।
‘सगरमाथा फ्रेन्ससिप’ नाम दिएको उक्त सैन्य अभ्यास बेइजिङमा पहिलो पटक सन् २०१७ मा भएको थियो । दोस्रो अभ्यास भने गत भदौंमा काठमाडौँमा चलेको थियो।
सम्बन्धित समाचार
प्रधानसेनापतिले भेटे चिनियाँ समकक्षी, चीनद्वारा १५ करोड युआन बराबरका उद्धार सामग्री सहयोग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।