बेइजिङ- जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरे।
यसअघि प्रधानसेनापति थापाको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको मुख्यालयमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई ‘हेभी म्याकेनिकल ब्रिज’, मानवीय तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरे।
प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमणसमेत गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा यही असार १ गतेदेखि सप्ताहव्यापी चीन भ्रमणमा रहेका थापाको प्रधानसेनापतिमा नियुक्तिपश्चात् यो पहिलो चीन भ्रमण हो। थापा नेतृत्वको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जना समेत छन्।
भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउने नेपाली सेनाको विश्वास छ।
प्रधानसेनापति थापा असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।