काठमाडौं– जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई दोस्रो पटक म्याद थपका लागि प्रहरीले अदालत लगेको छ। जिउँदो मानिसलाई इँट्टाभट्टामा हालेर मारेको अभियोगमा उनलाई थप अनुसन्धानका लागि प्रहरीले रौतहट जिल्ला अदालत लगेको हो।
आलममाथि अनुसन्धान सुरु भएको र थप आरोप समेत आएकाले अनुसन्धान अवधि थप माग गर्दै प्रहरीले अदालत पुर्याएको हो। प्रहरीले अझै सात दिनको म्याद थप्न माग गर्दै रौतहट जिल्ला अदालतमा लगेको छ।
यसअघि मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद दिएको थियो। अदालतले यसअघि दिएको समय अपुग भएकाले प्रहरीले आलमलाई फेरि म्याद थप्न माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले पक्राउ गरेको थियो।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।
उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ। आलम अदालतबाट दोषी ठहर भएमात्र निलम्बनमा पर्नेछन्।
प्रहरीले आलमसँग आजै बयान लिने तयारी गरेकाे छ। बयान दिनका लागि आफू तयार रहेकाे आलमले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।