काठमाडौं- थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि आज अदालत लगिने भएको छ।
जिल्ला अदालत काठमाडौंले २८ असोजमा जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।
पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो।
जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्। दसैं बिदाका समयमा पक्राउ परेका महरा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा निवासबाटै पक्राउ परेका थिए।
पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए। तर, स्वास्थ्यमा गडबडी भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।