प्युठान- प्युठान कारागारका कैदीको अवस्था दयनीय बन्दै गएको छ। यहाँका कैदीबन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्।
सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए भए पनि त्यसको आभास कैदीबन्दीले गर्न पाएका छैनन्।
कारागारको भौतिक अवस्था, सुरक्षा र सुविधाका हिसाबले कारागारको अवस्था दयनीय बनेको हो। कारागार भवनको पर्खालका भित्ता चर्किएका छन्। शौचालयबाट निस्कने ग्यास कारागार परिसरमा दुर्गन्ध फैलिएको छ। कारागार सुरक्षा प्रशासन, कैदी, भोजनालय, शौचालय, उनीहरूले बुन्ने मुढालगायतका सामग्रीसमेत व्यवस्थित छैनन्।
खाना पकाएर खाने ठाउँ र शौचालय एकै ठाउँमा सटेको छ। जेल सुधार गृह नभई यातना गृहजस्तो बनेको कैदीबन्दीहरूले गुनासो गरेका छन्। 'गर्मीमा अति नै गर्मी, चिसोयाममा घाम ताप्ने त के कुरा, घामको मुखसमेत देख्न पाइँदैन,' एक कैदीले भने। कारागारमा बढेको कैदीको चापले खान, बस्न, सुत्न र कैदीको दैनिकीमा धेरै समस्या भएको कैदी थुनुवाले गुनासो पोखेका छन्।
उता जिल्ला कारागारका जेलर सूर्य पन्त भने झ्यालखानाको अवस्था पहिलेभन्दा सुध्रँदै गएको दाबी गर्छन्। ’कारगारलाई यातना गृहभन्दा पनि यसलाई सुधार गृहका रुपमा विकास गर्न तत्काल पहल थालिनुपर्ने सरोकारवाला बताउँछन्। कारागारका जेलर पन्तले गत वर्ष ३५ लाख रुपैयाँको लागतमा दुई कोठे भवन बनाइएको जानकारी दिए। प्रदेश सरकारले रकम विनियोजन गरे पनि जग्गा नहुँदा भवन निर्माण अन्योलमा परेको पन्तको भनाइ छ।
यसअघि विभिन्न समितिले पटक-पटक कारागारको स्थलगत अध्ययन गरी सुधारका लागि पहल गर्न सरकारलाई सुझाव दिए पनि अहिलेसम्म कतैबाट यसको सुधारका लागि पहल थालिएको छैन।
क्षमताभन्दा तेब्बर कैदीबन्दी
कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने कमजोर बन्दै गएको छ। राणाकालमा घोडा राख्ने तबेलाको ठाउँलाई कारागारको रूपमा प्रयोजनमा ल्याइए पनि अहिलेसम्म आवश्यक सुधार हुन सकेको छैन। २० जना कैदी राख्न मिल्ने क्षमताको जिल्ला कारागारमा अहिले १० महिला र ६३ जना पुरुष गरी ७३ जना कैदी राखिएका छन्।
कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुत्न र बस्न समस्या हुने गरेको कारागारका प्रहरी हवल्दार खिल बहादुर डाँगीले बताए। 'कैदीको व्यवस्थापन हुन नसक्दा बस्न समस्या छ। ‘सुत्ने बस्ने समस्या भयो भन्दै कैदीहरूले गुनासो गर्छन्। तर तत्कालै हामीले पनि केही गर्न सक्ने अवस्था छैन,’ हबल्दार डाँगीले कैदीबन्दीलाई उद्धृत गर्दै भने, ‘सरोकारवाला निकाय देखेर पनि नदेखेझैँ गर्छन्। भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो, समस्या छ, जीर्ण भवन र कैदी थपिँदै जानुले कारागार व्यवस्थापनमा चुनौती थपिदै गएको छ।'
नयाँ भवन बनाईंदै
यसैबीच कारागारको नयाँ भवन निमार्ण हुने भएको छ। कैदीबन्दीको समस्यालाई ध्यानमा राख्दै कारागारको अवस्था बारे पटकपटक माग गरेर पठाएपछि नयाँ भवनको लागि बजेट समेत परेको छ। प्रदेश ५ सरकारले भवन निर्माणका लागी यो वर्ष एक करोड बजेट बिनियोजन गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।