काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थामा अनावश्यक राजनीति भएको बताएका छन्।
काठमाडौंमा भएको नवौं सम्मेलनबाट प्रत्यासी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गरी शुक्रबार विजयी भएपछि अध्यक्ष पन्तले होटलका कोठा-कोठामा नेताहरू आएर संस्थालाई राजनीतिकरण गर्न खोजेको टिप्पणी गरे।
‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो। सम्मेलनका बेला होटलका कोठा-कोठामा नेताहरू ल्याएर छलफल पनि भए। हामी संस्थालाई राजनीतिकरण गर्न चाहन्नौं,’ विजयी भएपछि पत्रकारहरूसँग होटल हयातमा छोटो प्रतिक्रिया दिएका पन्तले भने, ‘अबदेखि नेपाल (काठमाडौंमा) अधिवेशन गर्दैनौं। अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं।’
फर्जी मत हालेर जितियो, तर हार स्वीकार गर्छु : आचार्य
त्यस्तै, अध्यक्ष पदमा पराजित भएका कुल आचार्यले आफैं इमानदार भएर काम गर्न खोज्दा विवाद गरिएको टिप्पणी गरेका छन्।
‘जब निर्वाचन प्रक्रिया सुरु भयो, एनसीसी बेलायतमै विवाद उत्पन्न गर्ने प्रयास गरियो। सो विवाद मिलाएर काठमाडौं आउँदै गर्दा सचिवालयको अनियमितता देखेर दुःख लाग्यो। सधैँ सबै कामहरु रातरात अनियमित रुपले अगाडि बढाइयो। सदस्यता रजिस्ट्रेसनमा चरम अनियमितता गरिएको जगजाहेर छ। नियमसंगत हुनुपर्ने कामहरुमा पनि अनुनय-विनय गर्नुपर्ने अवस्था आयो,' आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फेरि पनि संस्थाको बृहत हितलाई ध्यानमा राखेर मैले संयम अपनाएँ।’
अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गर्ने काम भएको र धेरै फर्जी मतदाताहरु तयार गरिएको उनले आरोप लगाए। चुनाव सम्पन्न भइसकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक नगरिएको र विना मुचुल्का मतगणना सुरु गरिएको आरोप आचार्यको छ।
नेपाल फर्किसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइएको उनले आरोप लगाए।
‘यी सबै अनियमतिताहरुलाई सहँदै, मेरो छाती ठूलो बनाउँदै, विभिन्न कानुनी प्रक्रियामा जानसक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितका लागि अस्वभाविक भए पनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशील हुनेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।