राजविराज- ऋण लगानीमा कमिसन लिएको आरोप लागेका सप्तरीको कल्याणपुरस्थित कृषि विकास बैंकका म्यानेजर प्रमोद चौधरीको सरुवा भएको छ।
ऋण लगानीमा कमिसन लिएको पुष्टि भएपछि कारबाही गर्नुको सट्टा उनलाई सरुवा गरेर अन्यत्र पठाईएको विषय स्थानीयस्तरमा चर्चाको विषय बनेको छ। कल्याणपुर शाखामा म्यानेजर चौधरीलाई क्षेत्रीय कार्यालय जनकपुर सरुवा गरिएको क्षेत्रीय कार्यालय राजविराजका शाखा अधिकृत रामचन्द्र साहले जानकारी दिए।
म्यानेजर चौधरीसहितको मिलेमतोमा ऋणीसँग कमिसन असुलिएको विषय बाहिरिएपछि क्षेत्रिय कार्यालय जनकपुर र राजविराजको संयुक्त टोलीले घटनाको छानबिन गरेको थियो। क्षेत्रीय कार्यालय जनकपुरका डाइरेक्टर निर्मल उपाध्याय र क्षेत्रीय कार्यालय राजविराजका शाखा अधिकृत साहसहितको टोलीले ऋणी शम्भु रामलगायतका व्यक्तिलाई बोलाएर सोधपुछ तथा घटनाको अनुसन्धान गरेको थियो।
बिचौलियामार्फत् कर्मचारीले कमिसन लिएको भन्ने ऋणीको दाबीपछि टोलीले सोही अनुसार मुचुल्का बनाएर उपलब्ध अन्य प्रमाणसहित बैंकको केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाएको छ। यसै बीचमा चौधरीको जनकपुर सरुवा भएको साहले बताए।
कृषि विकास वैंक क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख रामपदारथ साहले पनि घटनाको पुष्टि गर्दै अनुसन्धान र छानबिनको जिम्मा क्षेत्रीय कार्यालय राजविराजलाई दिइएको बताए। छानबिनको प्रतिवेदन केन्द्रीय कार्यालय पठाइएको र चौधरीको सरुवा भएको उनको भनाई छ।
कमिसन लिएको पुष्टि भएपछि शम्भु रामको ५० हजार रुपैयाँ समेत फिर्ता गराईएको साहले जानकारी दिए। ‘ऋणीले म्यानेजर चौधरीकै अगाडि आफुले ५० हजार दिएको बयान गरे,’ साहले भने, ‘हामीले सोहि बमोजिमको मुचुल्का तयार गरेर अनुसन्धानको प्रतिवेदन कारबाहीका लागि केन्द्रीय कार्यालयमा पठाएका छौं।’
यस्तो थियो घटना
कृषि विकास बैंकको लहान शाखावाट ह्याकिङ गरी रकम चोरी भएको विषयले चर्चा पाईरहेका बेला सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर शाखामा ऋणीसँग कमिसन असुलिएको विषय पनि चर्चामा आयो। ऋण लगानीको प्रक्रिया सुरु गर्नुपूर्व नै कमिसनको दर निर्धारण गर्ने अनि कुरा मिले फाइल अगाडि बढाउने नत्र विभिन्न बहाना बनाएर फाइल अड्काउने गरिएको भन्दै पीडितले गुनासो गरे।
यिनै पीडितमध्येका शम्भुनाथ नगरपालिका-४ का शम्भु रामले आफूले दुई पटक ऋण लिएको र दुवै पटक १०/१० प्रतिशत कमिशन दिएको दाबी गरे। पहिलोपटक लिएको ६ लाख रुपैयाँ ऋण उनले गत असारमा चुक्ता गरे। पैसाको अभाव भएपछि उनले दोश्रोपटक पनि ऋण लिने सोचमा बैंकमा १० लाख रुपैयाँ माग गरे। तर, कर्मचारीले १० लाख रुपैयाँ मिल्दैन भन्दै ५/६ लाख रुपैयाँसम्म ऋण दिन सकिने संकेत देखाए।
रामले ७ कठ्ठा जग्गासहितको घर धितो राखेर असार पहिलो साता ऋणका लागि बैंकमा फाइल पेस गरे। फाइल पेस भएसँगै कमिसनको कुरा मिलाउन बलान बिहुल गाउँपालिका निवासी वेचन भण्डारी उनको पछि लागे। बैंक कर्मचारीकै अनुसार भण्डारी विचौलियाको काम गर्छन्। ऋणीसँग कमिसनका लागि उनले नै ’डिल’ गर्ने गरेका छन्। भण्डारीको यो काममा कार्यालय प्रमुख चौधरी, ऋण फाँटका प्रमुख सञ्जय नायक लगायतका कर्मचारीको मिलेमतो रहेको रामको दाबी थियो।
दुई/तीन दिनको छलफलपछि ५० हजार रुपैयाँ कमिसन दिने सर्तमा शम्भुको ६ लाख ५० हजार ऋण स्वीकृत हुने भयो। फाइल अघि बढेपछि उनी काम विशेषले काठमाडौं पुगे। सोही क्रममा भदौको पहिलो साता फोन गरेर ऋण स्विकृत भइसकेको जानकारी गारउँदै पैसा लान शम्भुलाई बोलाइयो। आफू काठमाडौंमा भएकाले आमा (कोशीला देवी)लाई पैसा उपलब्ध गराइदिन शम्भुले आग्रह गरे। उनको आग्रहमा कर्मचारी पनि तयार भएपछि भदौ ६ गते (शुक्रबार) कोशीलादेवी बैंक पुगिन्। तर, कमिसनको कुरा नबुझेकी उनले पैसा दिन राजी भइन्।
त्यसपछि कर्मचारीले रकम पनि दिएनन् । शनिबार साँझ नाइट बस चढेर राम आइतबार बिहान कल्याणपुर झरे। दुईवटा चेकमार्फत उनले ऋण वापतको रकम बुझे। पहिलो चेकमार्फत झिकेको २ लाख २६ हजार रुपैयाँबाट आफूले कमिसन वापतको ५० हजार रुपैयाँ वेचनलाई उपलब्ध गराएको शम्भुको दावी छ। ‘पैसा लिएपछि मैले उसैलाई नियाली रहें,’ उनी भन्छन, ‘त्यो पैसा हाकिमले नै बुझेको मैले नै देखेको छु।’ शम्भु मात्र होइन, तत्कालीन कल्याणपुर गाविसका एक जनप्रतिनिधि समेतले कमिसन दिएर आफूले ऋण लिएको बताएका छन्।
ऋणीको दाबीमा बैंक म्यानेजनर चौधरीले भने आफूलाई सो बारेमा जानकारी नै नभएको प्रतिक्रिया दिँदै आएका थिए। तर गत असोज १७ गते शम्भु रामले दोश्रो पटक ऋण लिदा वुझाएको कमिसन बापतको ५० हजार भने उनैले फिर्ता गरेका छन्।
शम्भुनाथमा बोलाएर पैसा फिर्ता
‘ह्याकिङ प्रकरणपछि कृषि विकास बैंकमा कमिसनको चर्चा’ शीर्षकमा समाचार प्रकाशित भएको तेश्रो (असोज १७ गते) क्षेत्रीय कार्यालय राजविराज र जनकपुरको टोली बैंकको शाखा कार्यालयमा पुग्यो। ऋणी शम्भु राम तथा बिचौलिया भण्डारीलाई बोलाएर घट्नाको बारेमा जानकारी लिइयो। ‘कार्यालयमै बोलाएपछि म गएँ,’ राम भन्छन्, ‘सोधखोज गरेपछि बेचन भण्डारीमार्फत् ५० हजार दिएको र हाकिम प्रमोद चौधरीले बुझेको बारेमा सबै बताए।’
वेचन भण्डारीलाई सोधपुछका लागि बोलाउने प्रयास भए पनि उनी नआएको रामले जानकारी दिए। त्यसको लगत्तै शम्भुनाथ नगरपालिकाको ट्राफिक बजारस्थित आएसर ट्याक्टरको सो–रुममा बसेर छलफल गरेपछि आफूलाई बोलाएर पैसा फिर्ता गरेको रामले बताए। ‘करिब ३ बजे मलाई बोलाइयो, चौधरीले पैसा दिएर माफी पनि मागे,’ उनले थपे, ‘हामीबाट मिस्टेक भयो, कहिलेकाही यस्तै हुन्छ। माफ गर्नोस् भन्दै पैसा दिएपछि म आफ्नो बाटो लागें।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।